Butwal Today

रुपन्देहीमा ‘स्मार्ट पुलिसिङ’ सुरु हुँदै

२३ असार २०८३, मंगलवार
अ+
अ-

बुटवल । रुपन्देही प्रहरीले सूचना प्रविधिमा आधारित ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ अवधारणाअन्तर्गत आधुनिक प्रहरी सेवा विस्तार गर्ने भएको छ ।

नेपाल सरकारको १०० दिने कार्यक्रमअन्तर्गत नेपाल प्रहरीले अघि सारेको ‘स्मार्ट पुलिसिङ’ अभियानलाई कार्यान्वयन गर्दै रुपन्देहीमा क्राइम रेस्पोन्स भेहिकल (सीआरभी) र स्मार्ट पुलिस कन्ट्रोल रुम (एसपीसीआर) सञ्चालनको तयारी गरिएको हो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत प्रहरी सेवालाई छिटो, प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यले रुपन्देहीबाट स्मार्ट पुलिसिङको सुरुआत गर्न लागिएको बताए ।

उनका अनुसार खुला सीमा, उच्च जनघनत्व तथा तीव्र सहरीकरणका कारण रुपन्देहीमा आपराधिक गतिविधिको जोखिम तुलनात्मक रूपमा बढी रहेकाले प्रविधिमा आधारित प्रहरी प्रणाली आवश्यक भएको हो । स्मार्ट प्रणाली कार्यान्वयनपछि अपराध नियन्त्रण, अनुसन्धान र आकस्मिक घटनामा प्रहरी परिचालन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

प्रहरी नायब महानिरीक्षक खत्रीले रूपन्देहीपछि बाँके, कपिलवस्तु, पश्चिम नवलपरासी र दाङमा पनि स्मार्ट पुलिसिङ विस्तार गरिने जानकारी दिए । उनले भन्सार छली, चोरी–तस्करी, सडक दुर्घटना तथा साइबर अपराध नियन्त्रणमा पनि यस प्रणालीले महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले सूचना प्रविधिको तीव्र विकाससँगै प्रहरी सेवाले पनि समयअनुकूल प्रविधिमैत्री रूप लिनुपर्ने आवश्यकता औँल्याए । स्मार्ट पुलिसिङले अपराध अनुसन्धानलाई थप वैज्ञानिक, प्रमाणमा आधारित र प्रभावकारी बनाउने उनको भनाइ छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका स्मार्ट पुलिसिङ तथा अपराध अनुसन्धान विज्ञ प्रहरी निरीक्षक उज्ज्वल खड्काका अनुसार रूपन्देहीका मिलनचोक, कालिकानगर, योगीकुटी, मणिग्राम, कोटिहवा, बुद्धचोक, मायादेवी चोक, आँखा अस्पताल चोक, बसन्तपुर चोक र झुलनीपुरमा क्राइम रेस्पोन्स भेहिकल (सीआरभी) का आधार केन्द्र स्थापना गरिनेछ ।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा स्थापना हुने स्मार्ट पुलिस कन्ट्रोल रुम (एसपीसीआर) आधुनिक डिजिटल प्रणालीसँग आबद्ध हुनेछ । यस केन्द्रबाट प्रहरी टोलीको परिचालन, कमाण्ड तथा नियन्त्रण, सिसिटिभी निगरानी, डिजिटल अभिलेखीकरण र प्रहरी प्रतिक्रियाको व्यवस्थापन चौबीसै घण्टा सञ्चालन गरिने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कुनै अपराध, दुर्घटना, विपत् वा अन्य आकस्मिक घटनाको सूचना प्राप्त हुनासाथ डिजिटल प्रणालीमार्फत सबैभन्दा नजिकको प्रहरी टोलीलाई तत्काल परिचालन गरिनेछ। घटनास्थलको सुरक्षा, प्रमाण संरक्षण, उद्धार तथा अनुसन्धानलाई एउटै प्रणालीमा आबद्ध गरिने भएकाले सेवा प्रवाह थप छिटो र प्रभावकारी बन्ने विश्वास गरिएको छ ।

नेपाल प्रहरीले अघि सारेको स्मार्ट पुलिसिङ अवधारणामा कृत्रिम बौद्धिकता (एआई), डिजिटल सूचना प्रणाली, डाटा विश्लेषण तथा आधुनिक अनुसन्धान प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको छ । यसमार्फत साइबर अपराध, सीमापार अपराध, सङ्गठित अपराध, वित्तीय अपराधलगायत आधुनिक सुरक्षा चुनौतीको प्रभावकारी सामना गर्ने लक्ष्य राखिएको छ ।

रुपन्देही प्रहरीले स्मार्ट पुलिसिङको कार्यान्वयनसँगै प्रहरी सेवाको गुणस्तर अभिवृद्धि हुनुका साथै प्रहरी र नागरिकबिचको विश्वास, समन्वय र सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?