Butwal Today

लुम्बिनीको बजेटमा त्रुटि स्वीकार्दै अर्थमन्त्री कार्कीद्वारा क्षमायाचना

२२ असार २०८३, सोमबार
अ+
अ-

बुटवल। लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८३ ८४ को बजेटमा त्रुटि भएको स्वीकार गर्दै प्रदेश सभा बैठकमा सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्। उनले बजेटमा केही प्रदेश सभा सदस्यका योजना छुटेको स्वीकार गर्दै त्रुटि सच्याएर सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि बजेटमाथिको छलफल अघि बढेको हो।

प्रदेश सभामा बोल्दै मन्त्री कार्कीले गत वर्ष पनि यस्तै कमजोरी भएको स्मरण गराउँदै यस वर्ष पनि प्राविधिक कारणले विशेषगरी बर्दिया लगायतका जिल्लाका केही योजना छुट्न पुगेको बताए। उनले सबैसँग माफी माग्दै आवश्यक संशोधनमार्फत समस्या समाधान गरिने जानकारी दिए।

मन्त्री कार्कीले असार १ गते ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका थिए। तर रातो किताबमा गुल्मीस्थित आफ्नै वडा र गुल्मी दरबार गाउँपालिकामा झण्डै ३० करोड रुपैयाँ, भौतिक पूर्वाधार विकासमन्त्री रत्न खत्रीको बाँके निर्वाचन क्षेत्रमा झण्डै ४० करोड रुपैयाँ बजेट केन्द्रित भएको तथा बर्दियाका प्रदेश सभा सदस्यका योजना छुटेको विषयलाई लिएर बजेटको तीव्र आलोचना भइरहेको छ।

बजेटप्रति असन्तुष्टि प्रतिपक्षमा मात्र सीमित नरही सत्ता पक्षकै प्रदेश सभा सदस्यहरूले पुनर्लेखनको माग गर्दै हस्ताक्षर अभियान सञ्चालन गरेका छन्। कतिपय सांसदले बजेट यथास्थितिमा पारित हुन नदिने चेतावनीसमेत दिएका छन्। त्यसपछि मुख्यमन्त्री चेतनारायण आचार्यले अर्थमन्त्री कार्कीसहित असन्तुष्ट सांसदहरूसँग निरन्तर छलफल गरिरहेका छन्।

आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्षका लागि अर्थ विविध शीर्षकमा झण्डै १ अर्ब रुपैयाँ विनियोजन गरेको विषय पनि विवादको केन्द्रमा परेको छ। आइतबार प्रदेश सभामा विनियोजन विधेयक प्रस्तुत भएपछि सोमबार विभिन्न मन्त्रालयको बजेटमाथि छलफल भएको थियो। छलफलमा सहभागी अधिकांश सत्ता पक्षका सांसदहरूले बजेटलाई असन्तुलित, असमान र सरकारको नीति तथा प्राथमिकताविपरीत भएको टिप्पणी गर्दै पुनर्लेखनको माग दोहोर्याए। केही सांसदहरूले प्रदेश सभा बैठकबाटै अर्थमन्त्री कार्कीको राजीनामासमेत माग गरेका छन्।

सोमबारको बैठकमा सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा, कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री तुलसीप्रसाद चौधरी तथा वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवारले सम्बन्धित मन्त्रालयको बजेटबारे उठेका प्रश्नको जवाफ दिएका थिए। त्यस्तै मुख्यमन्त्री चेतनारायण आचार्यले महालेखा परीक्षकको आठौँ वार्षिक प्रतिवेदन प्रदेश सभामा पेस गरेका छन्। प्रदेश सभाको अर्को बैठक मंगलबार बस्नेछ। सरकारका प्रवक्ता तथा स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेका अनुसार बजेटमाथिको छलफल सम्पन्न गरी मंगलबार नै बजेट पारित गर्ने तयारी गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?