© 2026
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक *पुष्पकमल दाहाल प्रचण्डले भदौ २३ र २४ पछिको राजनीतिक घटनाक्रममा आफूहरू अत्यन्तै जोखिमपूर्ण अवस्थामा पुगेको र अन्तर्राष्ट्रिय भूराजनीतिक शक्ति सन्तुलनका कारण जोगिन सफल भएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले त्यसबेला आफूहरूलाई प्रतिक्रियावादी शक्तिले सहजै समाप्त पार्न सक्ने अवस्था रहेको दाबी गरे। उनले आफूहरूलाई पार्टीका नेता–कार्यकर्ता वा समर्थकले नभई विश्वका भूराजनीतिक शक्ति केन्द्रहरूबीचको संघर्ष र सन्तुलनले जोगाएको बताए।
‘हामी त किचिक्क परेर मिचिने र मारिने ठाउँमा थियौँ। प्रतिक्रियावादीले चाहेको भए एकैछिनमा सकिन्थ्यो। तर हामी बच्यौँ,’ उनले भने। प्रचण्डका अनुसार भदौ २३ र २४ पछिका दुई दिन आफूहरू कहाँ छन्, जीवित छन् कि छैनन् भन्ने विषयमै अन्योल सिर्जना भएको थियो। त्यसबेला पार्टीका नेता–कार्यकर्ता वा लडाकुले आफूहरूलाई जोगाउने अवस्था नरहेको उनको भनाइ थियो।
‘हामीलाई हाम्रो पार्टीले बचाएको होइन, विश्वका भूराजनीतिक शक्ति केन्द्रहरूबीचको संघर्ष र सन्तुलनले बचाएको हो,’ उनले दोहोर्याए। उनले भदौ २६ गते आफू र तत्कालीन नेता माधवकुमार नेपाललाई तत्कालीन प्रधानसेनापति र राष्ट्रपतिले राष्ट्रपति कार्यालयमा छलफलका लागि बोलाएको प्रसंग पनि स्मरण गरे।
‘हामीलाई प्रधानसेनापति र राष्ट्रपतिले बोलाएर सुझाव लिन्छन् भन्ने कल्पनासमेत गरेका थिएनौँ। तर २६ गते राति त्यही भयो,’ प्रचण्डले भने। प्रचण्डको यस अभिव्यक्तिपछि तत्कालीन राजनीतिक घटनाक्रम, सुरक्षा अवस्था र अन्तर्राष्ट्रिय भूराजनीतिक प्रभावबारे पुनः चर्चा सुरु भएको छ।