Butwal Today

घाँटी किन कालो देखिन्छ ?

२१ असार २०८३, आइतबार
अ+
अ-

बुटवल ।

कतिपय मानिसको घाँटी कालो देखिएको तपाईंले पनि याद गर्नुभएको होला । धेरैजसोले यसलाई फोहोर वा सरसफाइमा कमीका कारण भएको ठान्छन् । तर वास्तविकता भने त्यस्तो होइन । घाँटीमा देखिने कालोपन फोहोर जमेर मात्र हुँदैन, यो केही स्वास्थ्य समस्याको संकेत पनि हुन सक्छ ।

चिकित्सकीय भाषामा घाँटीमा देखिने यस्तो कालोपनलाई एक्यान्थोसिस निग्रिकान्स भनिन्छ। यो समस्या इन्सुलिन प्रतिरोध पीसीओएस हार्मोनल असन्तुलन, मोटोपना तथा कतिपय अवस्थामा आनुवंशिक कारणले पनि हुन सक्छ ।

कसरी गरिन्छ उपचार ?

छाला विशेषज्ञहरूका अनुसार केवल क्रिम लगाएर यो समस्या पूर्ण रूपमा निको हुँदैन । यसको उपचारका लागि मूल कारण पत्ता लगाएर त्यसैअनुसार व्यवस्थापन गर्न आवश्यक हुन्छ । तौल नियन्त्रण, इन्सुलिन प्रतिरोधको उपचार तथा पीसीओएसको उचित व्यवस्थापनले यसमा सुधार ल्याउन सक्छ ।

घाँटीको कालोपन छिट्टै कम गर्न चाहनुहुन्छ भने छाला विशेषज्ञसँग परामर्श लिनु उचित हुन्छ । विशेषज्ञको सल्लाहमा केमिकल पिल वा लेजर उपचार जस्ता विधि अपनाउन सकिन्छ ।

कुन–कुन परीक्षण गर्नुपर्छ ?

यदि लामो समयदेखि घाँटी कालो छ र राम्रोसँग सफा गर्दा पनि कालोपन हट्दैन भने यसको कारण पत्ता लगाउन केही परीक्षण आवश्यक हुन सक्छ । यसका लागि फास्टिङ ब्लड सुगर र फास्टिङ इन्सुलिन परीक्षण गराउन चिकित्सकहरूले सिफारिस गर्छन् ।

क्रिमले कति फाइदा गर्छ ?

छाला विशेषज्ञहरूका अनुसार क्रिमले यो समस्या पूर्ण रूपमा निको पार्दैन । तर केही हदसम्म कालोपन हल्का बनाउन मद्दत गर्न सक्छ । चिकित्सकको सल्लाहमा रेटिनोइड्स, युरिया वा ल्याक्टिक एसिडयुक्त क्रिम प्रयोग गर्न सकिन्छ ।

के गर्ने, के नगर्ने ?

घाँटीको कालोपन हटाउन धेरै जोडले रगड्ने वा ब्लीच प्रयोग गर्ने काम गर्नु हुँदैन । यसले छालालाई थप क्षति पुर्‍याउन सक्छ । यसको सट्टा छालालाई बिस्तारै सफा गर्ने, नियमित मोइस्चराइजर र सनस्क्रिन प्रयोग गर्ने तथा अत्यधिक टाइट लुगा लगाउनबाट जोगिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?