© 2026
काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशभर साधरणतया बादल लागेको छ । कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी क्षेत्रमा साधरणतया बादल लाग्नेछ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि साधरणतया बादल लाग्ने तथा कोसी, मधेस र बागमती प्रदेशका तराईमा आंशिकदेखि साधरणतया बादल लाग्ने सम्भावना छ ।
हिमाली तथा पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान, कोसी र बागमती प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका एक दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
त्यसैगरी, आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लाग्ने तथा बाँकी प्रदेशमा आंशिकदेखि साधरणतया बादल लाग्ने छ । हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपात हुनसक्ने छ ।
सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थान, कोसी र कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेशको तराई क्षेत्र तथा मधेस प्रदेशका एक दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ ।
सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।