© 2026
ललितपुर । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी नेतृत्वविरुद्ध सुनियोजित रूपमा भ्रम फैलाउने प्रयास भइरहेको आरोप लगाउँदै प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधन प्रति एमालेले “राजनीतिक हिसाब” राखेको बताएका छन्।
शनिबार ललितपुरमा आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले डिजिटल प्लेटफर्मको दुरुपयोग गरेर एमाले र उसका नेताविरुद्ध योजनाबद्ध रूपमा दुष्प्रचार भइरहेको दाबी गरे। उनले भने, “हाम्रा नेताहरूले शपथ लिएको २४ घण्टा नबित्दै अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्ने कुरा गर्ने बालेन र सुधनसँग नेकपा एमालेले एक–एक हिसाब राखेको छ। यसको हिसाब अवश्य हुनेछ।”
बस्नेतले एमाले अध्यक्ष र उपाध्यक्ष माथि प्रतिशोधपूर्ण ढंगले आधारहीन आरोप लगाइएको दाबी गर्दै वर्तमान सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा काम गरिरहेको आरोप लगाए। उनले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङमाथि पनि विभिन्न आरोप लगाउँदै समयसँगै सत्य बाहिर आउने दाबी गरे। साथै, ‘डिस्कोर्ड’ च्यानल, ‘हामी नेपाली’, ‘बारबरा फाउण्डेसन’ र ‘अमेरिकन युथ काउन्सिल’ जस्ता समूहहरू विदेशी प्रभावमा सञ्चालन भएको आरोपसमेत लगाए।
बस्नेतले भदौ २३ र २४ गते भएका हिंसात्मक घटनालाई नेपालमाथिको योजनाबद्ध आक्रमणको संज्ञा दिँदै ती घटनामा संलग्न सबैलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा व्यक्त गरे। उनले लोकतान्त्रिक व्यवस्था र संवैधानिक संस्थामाथि आक्रमण गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने भन्दै पार्टी पङ्क्तिलाई सचेत र संगठित भएर अघि बढ्न आग्रह गरे।