© 2026
दाङ । दाङका महिलाहरू सहकारीमा आबद्ध भएर विगत केही वर्षदेखि रैथाने तिल्की धान उत्पादन तथा बिक्री गर्दै आएका छन् । तुलसीपुर उपमहानगरपालिका–१८, विजौरीस्थित श्री गन्यारी कृषि सहकारी संस्था लिमिटेडमा आबद्ध महिलाहरू तिल्की धान बिक्रीबाट लाखौँ आम्दानी गर्न सफल भएका छन् ।
सहकारीकी अध्यक्ष लक्ष्मी चौधरीका अनुसार सहकारीले ३५ कठ्ठा जमिनमा तिल्की धान खेती गर्दै आएको छ । गत वर्ष उक्त क्षेत्रफलमा ५५ कुन्टल धान उत्पादन भएको थियो । त्यसमध्ये ५० कुन्टल बिक्री गरेर करिब ५ लाख रुपैयाँ आम्दानी भएको थियो ।
उनका अनुसार यस वर्ष सोही जमिनमा ८० कुन्टल धान उत्पादन भएको छ । सामान्य धानको तुलनामा तिल्की धान महँगो मूल्यमा बिक्री हुने गरेको उनले बताइन् । “अन्य धान प्रतिकुन्टल ३ हजार ४ सय रुपैयाँमा बिक्री हुन्छ भने तिल्की धान ९ हजार रुपैयाँ प्रतिकुन्टलमा बिक्री भइरहेको छ । चामल भने प्रतिकुन्टल १६ हजार रुपैयाँमा बिक्री भइरहेको छ,” उनले भनिन् ।
उनका अनुसार यस वर्ष हालसम्म ५६ कुन्टल धान बिक्री गरेर ८ लाख ९० हजार रुपैयाँ आम्दानी भइसकेको छ । अझै २४ कुन्टल धान बिक्री गर्न बाँकी रहेकाले थप आम्दानी हुने अपेक्षा गरिएको छ ।
सहकारीमा ४ सय ७० जना सदस्य आबद्ध छन् । सबै सदस्यले सामूहिक रूपमा खेती गर्ने र बिक्रीबाट प्राप्त रकम सहकारीमा जम्मा गर्ने गरेका छन् । धान काट्ने, दाउने लगायतका काम पनि सदस्यहरूले मिलेर गर्ने गरेका छन् । थ्रेसरको प्रयोग गरेर दाउने काम सम्पन्न गरिन्छ ।
धान बिक्रीमा कुनै समस्या नभएको र गाउँघरमै सहज रूपमा बिक्री हुने अध्यक्ष चौधरीले बताइन् । साथै, खेतीमा गाईबस्तुको अर्गानिक मल प्रयोग गर्ने गरिएको उनले जानकारी दिइन् ।
“सामूहिक रूपमा खेती गर्दा रोपाइँ, कटाइ र दाउने काम समयमा नै सम्पन्न हुन्छ । सबै सदस्य मिलेर काम गर्दा सजिलो र छिटो हुने रहेछ,” चौधरीले भनिन् ।
उनका अनुसार सहकारीले प्रतिकठ्ठा वार्षिक ३ हजार रुपैयाँ भाडा तिर्ने सर्तमा ३५ कठ्ठा जमिन भाडामा लिएको छ । सोही जमिनमा सहकारीले गत वर्षदेखि रैथाने तिल्की धान खेती सुरु गरेको हो ।