Butwal Today

प्रदेश खारेजी होइन, प्रभावकारी बनाउने पक्षमा रास्वपा : रवि लामिछाने

१९ असार २०८३, शुक्रबार
अ+
अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्। बरु प्रदेश संरचनालाई थप प्रभावकारी, उत्तरदायी र नागरिकमैत्री बनाउने विषयमा बहस आवश्यक रहेको उनले बताएका छन्।

शुक्रबार सिंहदरबारस्थित रास्वपा संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले पार्टीको प्रथम महाधिवेशनमा आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा प्रदेश खारेजीसम्बन्धी कुनै प्रस्ताव नरहेको बताए। उनका अनुसार रास्वपाले प्रदेश संरचनालाई हटाउने नभई यसको कार्यक्षमता बढाउन ‘रेट्रोफिट’ अर्थात् पुनःसंरचना, सुधार र सुदृढीकरणबारे छलफल गर्नुपर्ने धारणा अघि सारेको हो।

लामिछानेले संविधानका विभिन्न विषयमा समयअनुकूल बहस आवश्यक रहेको उल्लेख गर्दै प्रदेश संरचनाको प्रभावकारिताबारे पनि सबै राजनीतिक दलबीच खुला छलफल हुनुपर्ने बताए। प्रदेश संरचना खारेज गर्ने धारणा रास्वपाको आधिकारिक नीति नभएको उनको जिकिर थियो। उनले केही पुराना राजनीतिक दलका नेताहरूले नै सार्वजनिक रूपमा प्रदेश खारेजीको बहस उठाउँदै आएको स्मरण गराउँदै रास्वपाले भने संघीय संरचनालाई थप प्रभावकारी बनाउने उपायबारे छलफल गर्न प्रस्ताव गरेको बताए।

सभापति लामिछानेले रास्वपा लोकतान्त्रिक व्यवस्था र संघीय शासन प्रणालीप्रति प्रतिबद्ध रहेको दोहोर्‍याउँदै संघीय संरचनालाई नागरिकको आवश्यकता र अपेक्षाअनुसार थप प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउनु आवश्यक रहेको धारणा व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?