Butwal Today

सम्राट सिमेन्ट उद्योगमा कार्यरत कर्मचारी आन्दोलनमा

१९ असार २०८३, शुक्रबार
अ+
अ-

दाङ ।

दाङको लमही नगरपालिका –७ स्थित सम्राट सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीहरूले सेवा सुविधा सुधारको माग गर्दै उद्योगमा तालाबन्दी गरेका छन् ।

कर्मचारीहरूले विभिन्न माग राखेर व्यवस्थापनलाई ज्ञापनपत्र बुझाउँदै माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् । उनीहरूले हाल केही कर्मचारीको मात्र तलब वृद्धि गरिएको भन्दै सबै कर्मचारीको समान रूपमा तलब वृद्धि गर्नुपर्ने माग राखेका छन् ।

त्यहाँ कार्यरत कर्मचारीको उचित मूल्याङ्कन गरी स्तरवृद्धि तथा पदोन्नति गर्नुपर्ने, यसअघि उपलब्ध गराइँदै आएको सेवा सुविधा कटौती नगर्ने र सम्पूर्ण कर्मचारीलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध गरिनुपर्ने उनीहरूको माग रहेको छ ।

ज्ञापनपत्रमा सामाजिक सुरक्षा कोषमा जम्मा हुने रकम कर्मचारीले पाउँदै आएको तलबभत्ताको ६० प्रतिशतलाई आधार मानेर जम्मा गर्नुपर्ने, भोजन तथा आवाससम्बन्धी विद्यमान समस्या समाधान गरी समयानुकूल व्यवस्था मिलाउनुपर्ने तथा स्थानीयलाई रोजगारीमा पहिलो प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ ।

त्यसैगरी कुनै कर्मचारीले कामबाट बिदा ल्याएमा बाहिरबाट नयाँ कर्मचारी ल्याउने प्रवृत्ति अन्त्य गरी उद्योगमै कार्यरत कर्मचारीलाई आवश्यक तालिम, उचित पारिश्रमिक, पदोन्नति तथा अवसर प्रदान गर्नुपर्ने माग पनि गरिएको छ । मागको सुनुवाइ नभएसम्म आन्दोलन जारी रहने आन्दोलनरत कर्मचारीले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?