Butwal Today

खेतीपातीको समयमा किसानलाई मलकै चिन्ता

१९ असार २०८३, शुक्रबार
अ+
अ-

दाङ ।

असार लागेसँगै गाउँघरमा धान रोपाइँको चटारो छ । बिहानैदेखि किसानहरु खेतमा व्यस्त हुने गर्छन । तर दाङका धेरै किसानका लागि यो व्यस्तता भने उत्साहभन्दा बढी चिन्ताको विषय बनेको छ । खेतमा धान रोप्न तयारी भए पनि आवश्यक रासायनिक मल नपाउँदा उनीहरू समस्यामा परेका छन् ।

घोराही उपमहानगरपालिका–६, गुरुवा गाउँका किसान चरण चौधरीले धानको बीउ तयार पारिसकेका छन् । खेत जोत्ने, पानी लगाउने र रोपाइँको तयारी पूरा भए पनि उनको मनमा एउटै चिन्ता छ—रोपाइँ गर्ने बेला आवश्यक मल पाइन्छ कि पाइँदैन ?

“बीउ त तयार छ, तर समयमा मल नपाइएला भन्ने डर लागिरहेको छ,” उनी भन्छन् । “खेतीपातीको समयमा किसानले खेती गर्ने कि मलको लाइनमा बस्ने ? सरकारले समयमा मल उपलब्ध गराइदिए हामीलाई धेरै राहत हुन्थ्यो ।”

चौधरीका अनुसार गाउँमा कृषि सहकारीमार्फत मल वितरण हुने गरे पनि मागअनुसार उपलब्ध हुँदैन । कहिलेकाहीँ आठ घरका किसानलाई एउटा मात्र बोरा युरिया बाँडने गरेको उनी बताउँछन् । यत्ति मल खेतीको लागि पर्याप्त नहुने उनको गुनासो छ ।

उनीजस्तै घोराही उपमहानगरपालिका–३ का किसान श्याम चौधरी पनि अहिले धान रोपाइँमा व्यस्त छन् । तर खेतमा पस्दा उनको मनमा पनि मल अभावकै चिन्ता छ । “हाम्रो मुख्य पेसा नै खेती हो । वर्षभरि खान पुग्ने अन्न यही समयमा उत्पादन गर्नुपर्छ । तर मल नै नपाएपछि कसरी राम्रो उत्पादन हुन्छ ?” उनी प्रश्न गर्छन् ।

उनका अनुसार सामान्य अवस्थामा चार बोरा युरिया र तीन बोरा डीएपी मल आवश्यक पर्छ । तर यस वर्ष मुस्किलले एक–एक बोरा युरिया र डीएपी मात्रै पाएका छन् । “यो मलले कसरी खेती गर्ने ? खेत बाँझो राख्न पनि मिल्दैन । थप मल आउला भन्ने आशामा रोपाइँ थालेको छु,” उनी भन्छन् ।

दाङका किसानका लागि यो समस्या नयाँ भने होइन । हरेक वर्ष धान रोपाइँ सुरु हुने समयमा मलको अभाव दोहोरिने गरेको छ । सरकारले पर्याप्त मल ल्याएको दाबी गरे पनि खेतसम्म सहज रूपमा पुग्न नसक्दा किसानले सास्ती खेप्नुपर्ने अवस्था अझै त्यस्तै छ ।

सरकारी निकायका अनुसार भने जिल्लामा अहिले मल मौज्दात रहेको छ । कृषि सामग्री कम्पनी लिमिटेड, घोराही शाखाका प्रमुख डेभिट हमालका अनुसार हालसम्म शाखाबाट एक हजार ८९८ दशमलव ९० मेट्रिक टन युरिया, एक हजार १९८ दशमलव ५० मेट्रिक टन डीएपी र १०६ दशमलव १५ मेट्रिक टन पोटास बिक्री गरिएको छ । शाखामा हाल ८५६ दशमलव ८० मेट्रिक टन युरिया, ७०५ दशमलव ८५ मेट्रिक टन डीएपी र ८९ मेट्रिक टन पोटास मौज्दात रहेको उनले जानकारी दिए ।

यस्तै, सल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, घोराही शाखाका प्रमुख रामबाबु प्रसाद गुप्ताका अनुसार कम्पनीले हालसम्म दुई हजार २६९ दशमलव १० मेट्रिक टन युरिया, दुई हजार ३४८ दशमलव ०५ मेट्रिक टन डीएपी र २४० मेट्रिक टन पोटास वितरण गरिसकेको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड, लमही शाखाले पनि सहकारीमार्फत ३०० मेट्रिक टन युरिया, ४३ मेट्रिक टन डीएपी र २६ दशमलव ६० मेट्रिक टन पोटास किसानलाई उपलब्ध गराएको जनाएको छ ।

यद्यपि सरकारी तथ्यांक र किसानको भोगाइबीच भने ठूलो अन्तर देखिन्छ । सरकारी निकायले मौज्दात रहेको बताए पनि धेरै किसानले आवश्यक परिमाणमा मल नपाएको गुनासो गरिरहेका छन् । वितरण प्रणाली प्रभावकारी नहुँदा किसानले खेतीको मुख्य समयमा सहज रूपमा मल पाउन सकेका छैनन् ।

कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा ६५ हजार ९८० हेक्टर खेतीयोग्य जमिन रहेको छ । तीमध्ये करिब ३९ हजार हेक्टर क्षेत्रमा धान खेती हुने गरेको छ । यसका लागि युरिया, डीएपी र पोटास गरी करिब ३२ हजार ८२१ मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने अनुमान गरिएको छ ।

कृषि उत्पादन बढाउने, खाद्य सुरक्षालाई मजबुत बनाउने र किसानको आय वृद्धि गर्ने लक्ष्य लिए पनि खेती गर्ने समयमा मल अभाव दोहोरिनु चिन्ताको विषय बनेको छ । किसानहरू समयमै गुणस्तरीय मल उपलब्ध गराउने व्यवस्था गर्न सरकारसँग माग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?