© 2026
बुटवल। बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बिमाअन्तर्गत औषधि लिन आउने सेवाग्राहीले दैनिक लामो समय लाइनमा बस्नुपर्ने अवस्था रहेको छ। नाम दर्तादेखि औषधि वितरणसम्म कम्तीमा ४० मिनेटदेखि एक घण्टासम्म कुर्नुपर्ने अवस्थाले बिरामी र उनका आफन्तले सास्ती खेपिरहेका छन्।
अस्पतालमा उपचारका लागि बिहानैदेखि बिरामी र कुरुवाको भीड लाग्ने गरेको छ। ओपिडीमा चिकित्सकको परामर्श लिएपछि स्वास्थ्य बिमाअन्तर्गत औषधि प्राप्त गर्न छुट्टै लाइनमा बस्नुपर्ने भएकाले सेवाग्राहीको समय धेरै खर्च हुने गरेको छ। विशेषगरी ज्येष्ठ नागरिक, दीर्घरोगी र टाढाबाट आएका बिरामीलाई लामो समय लाइनमा बस्नुपर्दा थप असहज हुने गरेको उनीहरूको गुनासो छ।
अस्पताल प्रशासनका अनुसार लगातार दुई दिनको सार्वजनिक बिदापछि सेवा लिन आउने बिरामीको संख्या एकैपटक बढेकाले अस्थायी रूपमा भीडभाड भएको हो। बिमामार्फत औषधि वितरण गर्ने काउन्टरमा सेवाग्राहीको चाप बढ्दा पालो कुर्नुपर्ने समय पनि लम्बिएको प्रशासनको भनाइ छ।
लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशकै प्रमुख रेफरल अस्पतालका रूपमा परिचित छ। यहाँ लुम्बिनी प्रदेशका १७–१८ जिल्लासहित छिमेकी क्षेत्रबाट पनि दैनिक दुई हजारभन्दा बढी बिरामीले ओपिडी सेवा लिने गरेका छन्। बिरामीको संख्या निरन्तर बढ्दै जाँदा सेवा व्यवस्थापनमा थप चुनौती सिर्जना भएको अस्पतालले जनाएको छ।
सेवाग्राहीले स्वास्थ्य बिमाको प्रभावकारी कार्यान्वयनसँगै औषधि वितरण प्रक्रियालाई अझ व्यवस्थित बनाउन, आवश्यक जनशक्ति थप्न तथा काउन्टरको संख्या बढाए अनावश्यक रूपमा लामो समय लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य हुने उनीहरूको अपेक्षा थियो।