© 2026
काठमान्डौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुरुषोत्तम यादवले देशका युवा लागुऔषधको दलदलमा फसिरहँदा पनि सरकार गम्भीर नबनेको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अब सरकारलाई “घण्टी बजाएरै जगाउने बेला आएको” बताएका हुन् ।
उनले भने, “तथ्याङ्क अत्यन्तै डरलाग्दो छ । सिरहा जिल्लामा मात्रै पछिल्ला १५ दिनमा ६ वटा मुद्दा दर्ता भएका छन्, १२ जना पक्राउ परेका छन् भने करिब ४१ किलो गाँजा र १०९ ग्राम खैरो हेरोइन बरामद भएको छ । एउटै जिल्लाको यो अवस्थाले देशभरको भयावह चित्र झल्काउँछ । मैले राज्य व्यवस्था समितिदेखि सञ्चारमाध्यमसम्म यो विषय उठाएको छु । तर, सरकारसँग न स्पष्ट कार्ययोजना छ, न त युवालाई बचाउने दृढ इच्छाशक्ति ।”
सांसद यादवले लागुऔषध नियन्त्रणको सफलता पक्राउको सङ्ख्याले मात्र मापन गर्न नहुने बताए । उनका अनुसार कुलतमा फस्ने युवाको सङ्ख्या घट्नु नै वास्तविक सफलता हो ।
उनले लागुऔषध तस्करीमा संलग्नमाथि निर्मम कारबाही गर्न तथा कडा राष्ट्रिय कार्ययोजना तत्काल ल्याउन सरकारसँग माग गरे ।