© 2026
काठमान्डौँ ।
सुर्खेतबाट कालिकोटका लागि छुटेको यात्रुवाहक हाइस कर्णाली नदीमा खसेको छ । दुर्घटना कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडामा भएको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पचभैयाका अनुसार कर्णाली प्रदेश ०३–००१ ख १०५५ नम्बरको हाइस सडकबाट करिब ५०० मिटर तल कर्णाली नदीमा खसेर डुबेको छ । उनले भने, “गाडी नदीमा डुबेको छ । गाडीमा कति जना सवार थिए र उनीहरूको अवस्था के छ भन्नेबारे अहिलेसम्म यकिन जानकारी प्राप्त भएको छैन ।”
प्रहरीका अनुसार उद्धार टोली घटनास्थलमा पुगिसकेको छ । तर, गाडी नदीमा डुबेकाले अहिलेसम्म फेला पार्न सकिएको छैन । “कोही घाइते वा अन्य व्यक्ति फेला नपरेकाले गाडीमा कति जना थिए भन्ने खुल्न सकेको छैन,” सूचना अधिकारी पचभैयाले भने ।
हाल बेपत्ता गाडी र यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।