Butwal Today

सुस्तावासीले गृहमन्त्रीलाई बुझाए सुस्ताको माटो, सीमा सुरक्षामा कूटनीतिक पहलको माग

१८ असार २०८३, बिहीबार
अ+
अ-

काठमाडौं । सीमा सुरक्षालगायतका माग राख्दै तीन दिनदेखि काठमाडौंमा आन्दोलनरत पश्चिम नवलपरासीको सुस्तावासीले गृहमन्त्री सुधन गुरुङलाई भेटी सुस्ताको माटो उपहारस्वरूप हस्तान्तरण गरेका छन्।

सुस्ता बचाउ अभियानका कार्यवाहक अध्यक्ष आदम खाको नेतृत्वमा गएको टोलीले गृहमन्त्रीलाई तीनबुँदे मागपत्र बुझाउँदै सीमा सुरक्षा, जग्गाधनी लालपुर्जा र नागरिकताको समस्या समाधान गर्न ध्यानाकर्षण गराएको हो। आन्दोलनमा सहभागी मुन्सी कुमारका अनुसार गृहमन्त्री गुरुङले समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिएका छन्।

सुस्तावासीले भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता गराउने, सीमा सुरक्षालाई प्रभावकारी बनाउने तथा नारायणी नदीको कटान रोक्न बाँकी १५० मिटर तटबन्ध निर्माणका लागि भारतसँग तत्काल कूटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन्।

सुस्तामा नारायणी नदी नियन्त्रणका लागि तटबन्ध निर्माण अन्तिम चरणमा पुगे पनि भारतीय पक्षको अवरोधका कारण १५० मिटर क्षेत्रमा निर्माण कार्य रोकिएको छ। वर्षायामअघि नै उक्त तटबन्ध निर्माण सम्पन्न गर्नुपर्ने स्थानीयको माग छ।

सुस्तावासीका अनुसार भारतले सुस्ता क्षेत्रमा करिब १४ हजार हेक्टर नेपाली भूमि अतिक्रमण गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?