Butwal Today

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग साउनभित्र सञ्चालनमा आउने

१७ असार २०८३, बुधबार
अ+
अ-

काठमाडौं । लामो प्रतीक्षापछि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजना निर्माण सम्पन्न भएको छ। ७९ महिनाको निर्माण कार्यपछि जापानी निर्माण कम्पनी हाजामा एन्डो कर्पोरेसनले सुरुङमार्ग औपचारिक रूपमा नागढुंगा सुरुङमार्ग निर्माण आयोजनालाई हस्तान्तरण गरेको हो।

आयोजनाले आवश्यक अन्तिम प्राविधिक तयारी पूरा गरी साउन महिनाभित्रै सुरुङमार्ग सर्वसाधारणका लागि सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाएको छ। सुरुङमार्गको निर्माण २०७६ कात्तिक ४ (अक्टोबर २१, २०१९) मा सुरु भएको थियो। सुरुमा ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड–१९ महामारी, स्थानीय अवरोध तथा विभिन्न प्राविधिक चुनौतीका कारण निर्माण कार्य निर्धारित समयभन्दा ढिलो सम्पन्न भएको हो।

सञ्चालनमा आएपछि नागढुंगा–नौबिसे सडकखण्डको ट्राफिक चाप कम हुने, यात्रा समय उल्लेखनीय रूपमा घट्ने तथा काठमाडौं उपत्यका र देशका अन्य भागबीचको सडक सम्पर्क थप सहज, छिटो र सुरक्षित हुने अपेक्षा गरिएको छ। यो आयोजना नेपालको सडक पूर्वाधार विकासका महत्त्वपूर्ण उपलब्धिमध्ये एक मानिएको छ। सुरुङमार्ग सञ्चालनमा आएपछि यात्रु तथा मालवाहक सवारी साधन दुवैलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?