Butwal Today

पासपोर्ट खरिद प्रकरणमा नेपाललाई कुनै चेतावनी दिएको छैन : जर्मन दूतावास

१७ असार २०८३, बुधबार
अ+
अ-

काठमान्डौँ ।

जर्मनीले पासपोर्ट खरिद प्रकरणसँग सम्बन्धित कुनै सम्भावित परिणाम वा कारबाहीबारे नेपाललाई कुनै चेतावनी नदिएको स्पष्ट पारेको छ ।

नेपालसँग सम्बन्धित राहदानी खरिद प्रकरणबारे सार्वजनिक भएका केही तथ्य गलत रहेको उल्लेख गर्दै जर्मन दूतावास, काठमाडौंले बुधबार तीन बुँदे स्पष्टीकरण जारी गरेको हो ।

दूतावासका अनुसार बर्लिनस्थित नेपाली कार्यवाहक राजदूतलाई जर्मन संघीय विदेश मन्त्रालयमा छलफलका लागि आमन्त्रण गरिएको हो, स्पष्टीकरण माग्न बोलाइएको होइन ।

कूटनीतिक अभ्यासमा ‘छलफलका लागि आमन्त्रण’ र ‘स्पष्टीकरणका लागि बोलाइएको’ भन्ने अभिव्यक्तिबीच महत्वपूर्ण भिन्नता हुने जर्मनीको भनाइ छ ।

दूतावासले उक्त भेटका क्रममा नेपाल पक्षलाई कुनै विरोधपत्र (प्रोटेस्ट नोट) वा अन्य कुनै आधिकारिक दस्तावेज हस्तान्तरण नगरिएको पनि जनाएको छ ।

यस्तै, अदालतमा विचाराधीन मुद्दाको आधारमा कुनै सम्भावित परिणाम वा कारबाहीबारे नेपाललाई कुनै चेतावनी नदिइएको पनि स्पष्टीकरणमा उल्लेख छ ।

जर्मनीले आफ्नो संविधानले न्यायपालिकाको स्वतन्त्रता सुनिश्चित गरेको उल्लेख गर्दै न्यायिक प्रक्रियाप्रति पूर्ण सम्मान रहेको जनाएको छ । साथै, सिद्धान्ततः विचाराधीन अदालतका मुद्दाबारे टिप्पणी नगर्ने नीतिअनुसार यस प्रकरणमा पनि कुनै टिप्पणी नगरेको दूतावासले स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?