© 2026
गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि थापिएको विद्युतीय करेन्टमा परी एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा धुर्कोट गाउँपालिका–५ निवासी ६० वर्षीया हुमकला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भिमकिरण बोगटीले जानकारी दिएका छन्।
गए राती करिब १ः३० बजेको समयमा घाइते भएकी भण्डारीलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याई पुराइएकोमा राती ३ः२५ बजे चिकित्सकद्वारा उनलाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मृतक भण्डारीका श्रीमान् भेषराज भण्डारीले आफ्नै घरदेखि करिब १५० मिटर टाढा रहेको बारीमा जङ्गली जनावर (बँदेल) नियन्त्रण गर्ने उद्देश्यले बिजुलीको पोलबाट करेन्ट प्रवाह गरेर छोडेका थिए ।
घटनापछि करेन्ट प्रवाह गर्ने मृतकका श्रीमान् भेषराज भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त घटनाको बारेमा थप अनुसन्धानका लागि प्रहरी टोली बिहानै घटना स्थल पुगिसकेको र अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।