© 2026
काठमाडौं । झन्डै दुई महिनादेखि अवरुद्ध रहेको नेपाली चियाको भारत निर्यात पुनः सुरु भएको छ। नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार काँकडभिट्टा नाकाबाट चिया बोकेका ट्रकहरू फेरि भारतको पानीटंकीतर्फ पठाउन थालिएको छ।
पराजुलीका अनुसार भारतीय पक्षले यसअघि प्रत्येक खेपको शतप्रतिशत नमुना परीक्षण गर्ने व्यवस्था लागू गरेको थियो। अहिले भने २० प्रतिशत खेपमा मात्र र्यान्डम नमुना परीक्षण गर्ने सहमति भएपछि निर्यात प्रक्रिया सहज बन्दै गएको छ। यद्यपि भारतीय भन्सारबाट अन्तिम क्लियरेन्स प्रक्रिया भने अझै पूरा हुन बाँकी रहेको उनले बताए। उक्त प्रक्रिया पनि सहज रूपमा अघि बढेपछि चिया निर्यातमा देखिएको अवरोध पूर्ण रूपमा हटेको मान्न सकिने उनको भनाइ छ।
यसअघि भारतले प्रयोगशाला परीक्षणको नाममा नेपाली चिया रोक्न थालेपछि करिब ३ लाख केजी चिया भारततर्फका गोदाममा थन्किएको थियो भने १० लाख केजीभन्दा बढी चिया नेपालमै रोकिएको उद्योगीहरूले बताएका थिए। निर्यात अवरुद्ध हुँदा इलाम र झापासहित पूर्वी नेपालका करिब ९९ वटा चिया उद्योग केही दिन बन्द भएका थिए। त्यसको प्रत्यक्ष असर हजारौं श्रमिक र चिया बगानमा परेको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कूटनीतिक तथा प्रशासनिक पहलमार्फत समस्या समाधान गर्ने आश्वासन दिएपछि उद्योगीहरूले उद्योग पुनः सञ्चालन गरेका थिए। अहिले काँकडभिट्टा नाकाबाट चिया निर्यात पुनः सुरु भएसँगै चिया उद्योगमा राहतको वातावरण बनेको छ।