© 2026
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गरेको छ। पारदर्शिता, छिटो सेवा प्रवाह र व्यवस्थित प्रशासन सुनिश्चित गर्ने उद्देश्यले मन्त्रालयले नयाँ डिजिटल सरुवा प्रणाली कार्यान्वयनमा ल्याएको हो।
मन्त्रालयका अनुसार नयाँ प्रणाली कर्मचारीको डिजिटल प्रोफाइलमा आधारित हुनेछ। व्यक्तिगत तथा सेवासम्बन्धी विवरण सम्बन्धित सरकारी प्रणालीसँग एपीआई मार्फत स्वतः अद्यावधिक हुने व्यवस्था गरिएको छ। सरुवासम्बन्धी आवेदनका लागि ‘फ्ल्यागिङ’ सुविधा पनि समावेश गरिएको छ, जसबाट दोहोरिएका वा विशेष निगरानी आवश्यक पर्ने आवेदन सहज रूपमा पहिचान गर्न सकिनेछ। साथै, कर्मचारीले आफ्नो सरुवा आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी अनलाइन ट्र्याकिङमार्फत हेर्न सक्नेछन्।
प्रणालीमार्फत सरुवासम्बन्धी पत्रहरू स्वतः तयार हुनेछन् भने आवश्यक परे अन्य सरकारी निकायसँग पनि एपीआईमार्फत सूचना आदान–प्रदान गर्न सकिने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ। यस्तै, सरुवासम्बन्धी निर्णयहरू भएको २४ घण्टाभित्र मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिने व्यवस्था समेत गरिएको छ।
भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले डिजिटल प्रणालीले सरुवा प्रक्रियामा हुने ढिलाइ न्यूनीकरण गर्ने, पारदर्शिता अभिवृद्धि गर्ने र सेवा प्रवाहलाई थप प्रभावकारी तथा विश्वासयोग्य बनाउने विश्वास व्यक्त गरिन्। मन्त्रालयका अनुसार नयाँ प्रणालीले कर्मचारी व्यवस्थापनलाई आधुनिक, सहज र उत्तरदायी बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।