© 2026
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । ती क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका अनुसार आज र भोलि मनसुनी गतिविधि थप सक्रिय हुने भएकाले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा चट्याङसहित भारी वर्षा हुने सम्भावना छ । यी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने पनि महाशाखाले जनाएको छ ।
बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्दै गएकाले भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको हो ।
महाशाखाले भारी वर्षाका कारण भूक्षय, बाढी र पहिरोको जोखिम बढ्नुका साथै सहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने जनाएको छ । साथै ठूला तथा साना नदी, नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।