Butwal Today

गुल्मीमा मनसुनजन्य विपत् जोखिमबाट सतर्क रहन आग्रह

१६ असार २०८३, मंगलवार
अ+
अ-

गुल्मी । जिल्ला विपत् व्यवस्थापन समिति, गुल्मीले सक्रिय मनसुनका कारण आगामी असार १६ र १७ गते भारी वर्षाको सम्भावना रहेको भन्दै जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ गैह्रेद्वारा सोमबार जारी गरिएको सूचनामा जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार भारी वर्षासँगै बाढी, पहिरो र डुबान जस्ता विपद्को जोखिम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सबैलाई आग्रह गरिएको छ ।

समितिले नदी, खोला तथा पहिरोको उच्च जोखिम रहेका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न, बाढी आएका बेला नदी तथा खोलामा माछा मार्ने, पौडी खेल्ने, दाउरा सङ्कलन गर्ने लगायतका जोखिमपूर्ण गतिविधि नगर्न अनुरोध समेत गरेको छ । यस्तै, भारी वर्षाका समयमा अत्यावश्यक बाहेक सवारीसाधन सञ्चालन नगर्न तथा सम्बन्धित निकायबाट जारी हुने सूचना र निर्देशनको पूर्ण पालना गर्न आग्रह गरिएको छ ।

मनसुनपछि महामारी तथा सरुवा रोग फैलिन सक्ने भएकाले सरसफाइमा विशेष ध्यान दिन, खाद्यान्न, लत्ताकपडा, औषधि र खानेपानी जस्ता अत्यावश्यक सामग्रीको उचित व्यवस्थापन गर्न तथा गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्त नागरिकको विशेष संरक्षण गर्न पनि समितिले आग्रह गरेको छ ।

विपत् व्यवस्थापनमा संलग्न सरकारी निकाय तथा स्थानीय तहलाई आवश्यक जनशक्ति र स्रोतसाधन तयारी अवस्थामा राख्न तथा समुदायलाई समेत उद्धार र राहत कार्यमा सहकार्य गर्न अनुरोध गरिएको छ । विपत् प्रभावितलाई राहत तथा अन्य सेवा स्थानीय तहबाट एक द्वार प्रणालीमार्फत उपलब्ध गराइने भएकाले आवश्यक परे सम्बन्धित स्थानीय तहसँग सम्पर्क गर्न पनि सूचनामा उल्लेख छ ।

समितिले विपत्सम्बन्धी अफवाह फैलाउने, उद्धार तथा राहत कार्यमा अवरोध पु¥याउने, कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी तथा उपभोक्ता हित विपरीतका गतिविधि नगर्नसमेत सबैलाई सचेत गराएको छ ।

समितिले वर्षा तथा बाढीबारे जानकारीका लागि ११५५ मा सम्पर्क गर्न तथा विपद्को उच्च जोखिम देखिएमा वा कुनै विपद्जन्य घटना भएमा तत्काल राष्ट्रिय विपत् उद्धार नम्बर ११४९, नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल १११४ वा नजिकको प्रहरी कार्यालय तथा स्थानीय तहमा सम्पर्क गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?