Butwal Today

२ दिनमा ४४ लाख बराबरका अवैध मोबाइल बरामद

१६ असार २०८३, मंगलवार
अ+
अ-
बुटवल । रुपन्देही प्रहरीले दुई दिनको अवधिमा भारतबाट भन्सार छली गरी नेपाल भित्राइँदै गरेका ४४ लाख ४० हजार रुपियाँ बराबरका मोबाइल फोन बरामद गरेको छ ।
बरामद मोबाइलमध्ये एक घटनामा एक जनालाई पक्राउ गरिएको छ भने अर्को घटनामा मोबाइलसहित स्कुटर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार असार १३ गते राति करिब ९ः१० बजे ओमसतिया गाउँपालिका–४ सानो बालापुरमा इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले लु ५३ प ३३९८ नम्बरको स्कुटर जाँच गर्ने क्रममा भारतबाट भन्सार छली गरी ल्याइएका २३ लाख ९० हजार रुपियाँ बराबरका मोबाइल बरामद गरेको हो ।
बरामद गरिएका मोबाइलमा दुई थान एप्पल आइफोन–१७, नौ थान एप्पल आइफोन–१३ (२५६ जिबी), १२ थान एप्पल आइफोन–१३ (१२८ जिबी), दुई थान एप्पल आइफोन–१४ प्रो तथा १३ थान एप्पल आइफोन–११ (१२८ जिबी) रहेका छन् । मोबाइलसहित स्कुटर आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
यस्तै असार १५ गते बिहान करिब १०ः३० बजे कोटहीमाई गाउँपालिका–५ बेनिनगरमा इलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरी टोलीले आकस्मिक जाँचका क्रममा भारतबाट भन्सार छली गरी ल्याइएका २० लाख ५० हजार रुपियाँ बराबरका मोबाइलसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिका–२ निवासी ३६ वर्षीय पवनकुमार मुराव रहेका छन् । उनी भारतीय नम्बरको मोटरसाइकलमा मोबाइल लुकाई नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।
उक्त घटनामा सात थान एप्पल आइफोन–१३ (१२८ जिबी), १७ थान एप्पल आइफोन–१२, दुई थान आइफोन–१२ प्रो म्याक्स (२५६ जिबी), एक–एक थान आइफोन–१३ (२५६ जिबी), आइफोन–१३ प्रो म्याक्स (२५६ जिबी), आइफोन–१४ प्रो (२५६ जिबी), आइफोन–१४ प्रो म्याक्स (२५६ जिबी), आइफोन–१५ (१२८ जिबी) तथा चार थान एप्पल आइफोन–११ (१२८ जिबी) बरामद भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले मोबाइल र भारतीय नम्बरको मोटरसाइकल भैरहवा भन्सार कार्यालयमा बुझाइएको र पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रहरीका अनुसार पछिल्ला दिनहरूमा सीमावर्ती नाकाबाट भन्सार छली गरी महँगा मोबाइल नेपाल भित्र्याउने प्रयास बढ्दै गएको छ । यस्ता गतिविधि नियन्त्रण गर्न सीमा क्षेत्रमा निगरानी र सवारी जाँचलाई थप कडाइ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?