© 2026
काठमाडौँ । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२, गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।
धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो । शिवपुरी लक्जरी कोच प्रालिद्वारा सञ्चालित उक्त बस आफैँ अनियन्त्रित भई डिभाइडरमा ठोक्किएपछि सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बस चालक कैलालीको धनगढी उपमहानगरपालिका–१३, गेटा निवासी ४२ वर्षीय हरिसिंह महरा, बैतडीको सिवास गाउँपालिका–६, खालाकाँडा निवासी २५ वर्षीय चक्रबहादुर रोकाया, डोटीको दिपायल सिलगढी नगरपालिका–५, दतेडया निवासी ३० वर्षीय भरत मल्ल, कैलालीको गोदावरी नगरपालिका–१ निवासी २८ वर्षीय विमल भट्ट, गोदावरी नगरपालिका–२ निवासी ५५ वर्षीया सीतादेवी बादी, डडेलधुरा निवासी २९ वर्षीय नरेन्द्र ताम्राकार, उनकी श्रीमती २५ वर्षीया आलिया ताम्राकार, २ वर्षीय सुदर्शन ताम्राकार, बझाङको थलारा गाउँपालिका–५ निवासी २३ वर्षीय विनोद सत्कुली, बैतडीको पुरचौडी नगरपालिका–८, मल्लादोही निवासी १५ वर्षीय लोचन विष्ट तथा उनका बुबा ४५ वर्षीय कृष्णबहादुर विष्ट घाइते भएका छन् ।
त्यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–१८, फूलबारी निवासी ७७ वर्षीय गणपति भागरी, घोडाघोडी नगरपालिका–६, जवलपुर निवासी २४ वर्षीय अखिलकुमार ठडिया, चितवनको भरतपुर महानगरपालिका–२६ निवासी ६५ वर्षीय भद्रकृष्ण मिश्र, कैलालीको धनगढी उपमहानगरपालिका–१८ निवासी २४ वर्षीय गोपाल पौडेल, डडेलधुराको गाउँपालिका–१ निवासी ४० वर्षीय केशबहादुर देउवा, दार्चुलाको नौगाड गाउँपालिका–४, सिवाटी निवासी ३३ वर्षीय प्रभानन्द ठकुन्ना, कैलालीको धनगढी उपमहानगरपालिका–१८ निवासी २२ वर्षीया दीपिका भण्डारी, घोडाघोडी नगरपालिका–९ निवासी ३६ वर्षीय प्रकाश रोकाया, बझाङको थलारा गाउँपालिका–५ निवासी २३ वर्षीय किश्वर बोहोरा तथा डडेलधुराको गन्यापधुरा गाउँपालिका–३ निवासी ४० वर्षीया पार्वती बोहोरा पनि घाइते भएका छन् ।
घाइतेमध्ये अधिकांशको टाउको, हात, खुट्टा, छाती, कम्मर तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । सबै घाइतेलाई जिल्ला अस्पताल तौलिहवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवास्थित मेडिकल कलेज रिफर गरिएको छ ।
बसमा चालकसहित ४६ जना सवार रहेकोमा घाइते नभएका २४ यात्रुलाई अर्को सवारीसाधनमार्फत गन्तव्यतर्फ पठाइएको छ । दुर्घटनापछि क्रेनको सहायताले बस हटाइएपछि सडक दुवैतर्फ सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।