Butwal Today

प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी–अनुसन्धानलाई व्यावसायिक र प्रमाणमुखी बनाउने प्रतिबद्धता

१५ असार २०८३, सोमबार
अ+
अ-

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गत अपराध अनुसन्धान विभागको संयुक्त आयोजनामा एक दिवसीय लुम्बिनी प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी–२०८३ बुटवलमा सम्पन्न भएको छ।

गोष्ठीमा लुम्बिनी प्रदेशअन्तर्गतका जिल्ला प्रहरी कार्यालय तथा अनुसन्धान इकाइहरूले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका अनुसन्धान कार्यको समीक्षा, चुनौती, उत्कृष्ट अभ्यास तथा आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण गरेका थिए। कार्यक्रममा अनुसन्धानलाई थप वैज्ञानिक, प्रमाणमा आधारित, प्रविधिमैत्री तथा पीडितमैत्री बनाउने विषयमा व्यापक छलफल भएको थियो।

यस वर्ष पहिलोपटक सञ्चालन गरिएको ‘बेस्ट इन्भेस्टिगेशन शोकेस’ कार्यक्रममा विभिन्न जिल्लाले आफ्नो उत्कृष्ट अनुसन्धान अभ्यास प्रस्तुत गर्दै अनुसन्धान रणनीति, नवीन अभ्यास तथा सिकाइ आदानप्रदान गरेका थिए। उत्कृष्ट अनुसन्धान प्रस्तुत गर्ने टोलीलाई ‘उत्कृष्ट अनुसन्धान सम्मान’ प्रदान गरिएको आयोजकले जनाएको छ। गोष्ठीको समापनका अवसरमा सहभागी जिल्ला प्रहरी कार्यालयका प्रमुख, अनुसन्धान शाखा प्रमुख तथा इलाका प्रहरी कार्यालयका प्रमुखहरूले अनुसन्धानलाई अझ व्यावसायिक, गुणस्तरीय, प्रमाणमुखी र नागरिकमैत्री बनाउने साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन्।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले समीक्षा, सिकाइ, नवप्रवर्तन र साझा प्रतिबद्धतामार्फत अनुसन्धान प्रणालीलाई थप प्रभावकारी, विश्वसनीय र नागरिकमैत्री बनाउने अभियानलाई निरन्तरता दिइने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?