© 2026
बुटवल। नेपाल पत्रकार महासंघ रुपन्देहीले बुटवल उपमहानगरपालिकाको सहयोगमा स्थापना गरेको उत्कृष्ट पत्रकारिता पुरस्कार २०८२ बाट रुपन्देहिमा कार्यरत तिन पत्रकार नगद सहित सम्मानित भएका छन । पत्रकार अमृत गिरी नगद एक लाख रुपैयाँ सहित सम्मानित भएका छन्। उनी मेचिकाली दैनिकमा कार्यरत छन , त्यसैगरी सूर्यप्रसाद प्रधान विकास पत्रकारिता पुरस्कार बाट पत्रकार छवि पाण्डे र पत्रकार माया केसी समान ५०/ ५० हजार रुपैयाँ सहित सम्मानित भएका छन्। पाण्डेय गोरखापत्र दैनीकमा र केसी बुटवल टुडे दैनीकमा कार्यरत रहेका छन् ।
पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले वर्तमान समयमा सञ्चारमाध्यम आर्थिक रूपमा टिक्न कठिन अवस्थामा पुगेको र पत्रकारहरूको भविष्यसमेत असुरक्षित बन्दै गएको बताए। उनले पत्रकारिता क्षेत्रलाई कानुनमार्फत संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बेला राज्यले नियन्त्रणमुखी नीति अपनाउनु संघीय लोकतान्त्रिक व्यवस्थामाथिको प्रहार भएको बताए। प्रविधिको तीव्र विकासले सञ्चार क्षेत्रलाई चुनौती थपेको उल्लेख गर्दै उनले समय र प्रविधिअनुसार पत्रकारिताको शैली परिवर्तन गर्न आवश्यक रहेको बताए। प्रमुख पाण्डेले बुटवललाई ‘मिडिया सिटी’ का रूपमा विकास गर्ने योजना रहेको जानकारी दिँदै यस अभियानमा बुटवलले राष्ट्रिय स्तरमै पत्रकारिताको नेतृत्व गर्न सक्ने गरी समन्वय गर्न पालिका तयार रहेको बताए। सामाजिक सञ्जालमा भ्युज र कन्टेन्टको प्रतिस्पर्धामा मात्रै केन्द्रित हुँदा सञ्चारमाध्यमको विश्वसनीयता कमजोर बन्दै गएको उनको भनाइ थियो।
उनले सञ्चारमाध्यमहरूबीच अनावश्यक अहंकारभन्दा आचारसंहिता र मार्गदर्शनलाई प्राथमिकता दिन आग्रह गर्दै बुटवल उपमहानगरपालिकाले मिडियाको संरक्षणमा कुनै विभेद नगरेको स्पष्ट पारे। कानुनले दिएको सीमाभित्र रहेर सञ्चार क्षेत्रसँग सहकार्य गर्न नगरपालिका सधैं तयार रहेको बताउँदै रचनात्मक सुझावसहित अघि आउन आग्रह गरे। “जबसम्म सञ्चारमाध्यम स्वतन्त्र, निष्पक्ष र एकअर्काप्रति सम्मानपूर्ण हुँदैनन्, तबसम्म मिडिया आफैं पछुताउनुपर्ने अवस्था आउन सक्छ,” उनले भने।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्यालले सञ्चार क्षेत्र लोकतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै जिम्मेवार, तथ्यमा आधारित र जनउत्तरदायी पत्रकारिताले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले स्थानीय सरकार र सञ्चार माध्यमबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै विकास, सुशासन र नागरिक सचेतनाका क्षेत्रमा मिडियाले रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्।
नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष नितु पण्डितले पत्रकारिताको व्यावसायिक विकास, पत्रकारको श्रम अधिकारको सुनिश्चितता तथा सञ्चार क्षेत्रको सुदृढीकरण आजको प्रमुख आवश्यकता भएको बताइन्। उनले जिम्मेवार, निष्पक्ष र जनउत्तरदायी पत्रकारितालाई प्रवर्द्धन गर्न पत्रकारको क्षमता अभिवृद्धि, पेशागत सुरक्षा र सञ्चारमाध्यमको दिगोपनामा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखिन्।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले आगामी दिनमा पर्यटन पत्रकारिता पुरस्कार, शिक्षा पत्रकारिता पुरस्कार तथा क्रियाशील युवा पत्रकारिता पुरस्कार स्थापना गर्ने तयारी भइरहेको र आगामी साधारणसभा मार्फत यसको घोषणा गरिने जानकारी दिए। उनले महासंघले पत्रकारहरूको हितका लागि सुत्केरी पोषण खर्च, शिशु बचत कोष लगायत विभिन्न कल्याणकारी कोष सञ्चालन गरिरहेको बताए। देशभरका शाखाहरूको भ्रमणबाट नयाँ अनुभव र सिकाइ प्राप्त भएको उल्लेख गर्दै अग्रज पत्रकारलाई सम्मान र नयाँ पुस्ताका पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। अध्यक्ष पाण्डेले पुरस्कार छनोट प्रक्रिया निष्पक्ष, पारदर्शी र साझा मूल्याङ्कनका आधारमा सम्पन्न गरिएको स्पष्ट पार्दै पत्रकारिताको मर्यादा र विश्वसनीयता जोगाउन सबै सञ्चारकर्मी एकजुट हुनुपर्नेमा जोड दिए।