Butwal Today

मृत्युदण्डको सजायपछि पनि स्वदेश फर्किने शेख हसिनाको घोषणा

१५ असार २०८३, सोमबार
अ+
अ-

काठमान्डौँ ।

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि यसै वर्ष स्वदेश फर्किने घोषणा गरेकी छन् । करिब दुई वर्षदेखि भारतमा बस्दै आएकी ७८ वर्षीया हसिनाले मृत्युदण्डको कुनै डर नभएको बताएकी छन् ।

भारतीय टेलिभिजन च्यानल एनडीटीभीलाई दिएको अन्तर्वार्तामा हसिनाले आफ्नो विरुद्धको फैसला गैरकानुनी, असंवैधानिक तथा राजनीतिक उद्देश्यले प्रेरित भएको दाबी गरिन् । उनले विगतमा आफूविरुद्ध धेरै षड्यन्त्र भए पनि जनताको मतबाट पाँच पटक प्रधानमन्त्री निर्वाचित भएको र देशको विकासका लागि काम गरेको उल्लेख गरिन् ।

‘म स्पष्ट रूपमा भन्न चाहन्छु, सबै अवरोध र षड्यन्त्र पार गर्दै म यसै वर्ष आफ्नो देश फर्किनेछु,’ हसिनाले अन्तर्वार्तामा भनिन् ।

सन् २०२४ को अगस्टमा भएको विद्यार्थी नेतृत्वको आन्दोलनपछि १५ वर्ष लामो शासनको अन्त्य हुँदै हसिना बंगलादेश छाडेर भारत पुगेकी थिइन् । त्यसयता बंगलादेश सरकारले उनलाई फरार घोषणा गरेको छ ।

गत वर्ष नोभेम्बरमा ढाकाको एक अदालतले हिंसामा उक्साएको, हत्या गर्न आदेश दिएको तथा अत्याचार रोक्न असफल भएको ठहर गर्दै हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो । यससँगै उनको दल अवामी लिगमाथि पनि प्रतिबन्ध लगाइएको छ ।

यसबीच भारत र बंगलादेशबीचको सम्बन्धमा सुधारका संकेत देखिएका छन् । सन् २०२६ को फेब्रुअरीमा बंगलादेशमा नयाँ सरकार गठन भएपछि द्विपक्षीय संवादले गति लिएको छ । भारतले बंगलादेशी नागरिकका लागि पर्यटक भिसा पुनः जारी गर्ने निर्णयसमेत गरेको छ ।

यद्यपि, सीमा सुरक्षा र अवैध आप्रवासनका विषय भने अझै पनि दुई देशबीचका संवेदनशील मुद्दाका रूपमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?