Butwal Today

पर्याप्त बिजुली, तर किन जान्छ झ्याप–झ्याप लाइन ?

१५ असार २०८३, सोमबार
अ+
अ-

सिद्धार्थनगर । गर्मीको रापसँगै भैरहवा र आसपासका क्षेत्रमा विद्युत् आपूर्तिमा देखिएको अनियमितता र बारम्बार लाइन काटिने (ट्रिपिङ) समस्यालाई लिएर सर्वसाधारण उपभोक्ताहरूमा आक्रोश र असन्तुष्टि बढिरहेको छ ।

विभिन्न सञ्चारमाध्यम तथा नेपाल विद्युत् प्राधिकरणको आधिकारिक फेसबुक पेज लगायतका सामाजिक सञ्जालहरूमा विद्युत् सेवाप्रति सर्वसाधारणले दिनहुँ जसो आक्रोशपूर्ण गुनासोहरू पोखिरहेका छन् ।

नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रले भैरहवा क्षेत्रमा विद्युत् आपूर्तिको अभावका कारण नभई प्राविधिक तथा स्थानीय वितरण प्रणालीको समस्याका कारण बेलाबेलामा ट्रिपिङ र लो–भोल्टेजको समस्या देखिने गरेको जनाएको छ ।

भैरहवा औद्योगिक तथा व्यापारिक दृष्टिकोणले नेपालकै प्रमुख र गर्मी हुने क्षेत्रमध्ये एक हो । विशेष गरी गर्मी याम सुरु भएसँगै यो क्षेत्रमा जाडो महिनाको तुलनामा विद्युतको माग (लोड) अत्यधिक रूपमा बढ्ने गर्दछ ।

गर्मी रैथाने बन्दै जाँदा सहरी क्षेत्रमा एयर कन्डिसनर (एसी), कुलर र पङ्खाहरूको प्रयोग अनियन्त्रित रूपमा बढ्छ भने ग्रामीण भेगमा कृषि सिँचाइका लागि पानी तान्ने मोटरहरूको प्रयोग ह्वात्तै बढ्ने गर्दछ ।

मागको यो अस्वाभाविक वृद्धिलाई व्यवस्थापन गर्न वितरण केन्द्रले विभिन्न स्थानमा प्राविधिक सुधार र कसरत गरिरहेको केन्द्रका प्रमुख सुरज रेग्मीले जानकारी दिए । “भैरहवा वितरण केन्द्र आफ्नो पूर्ण क्षमता (फुल क्यापासिटी) मा लोड सप्लाई गर्न नसक्ने अवस्थामा निश्चित रूपमा छैन ।

हामीसँग पर्याप्त विद्युत् छ र आपूर्तिको कुनै ठुलो सङ्कट छैन,” प्रमुख रेग्मीले भने, “तर, अत्यधिक गर्मी र लोडका कारण स्थानीय वितरण प्रणालीका उपकरणहरूमा आउने प्राविधिक समस्या नै उपभोक्ताले महसुस गर्ने ट्रिपिङको मुख्य जड हो ।”

सर्वसाधारणले पटक–पटक लाइन काटिने र केही समयसम्म विद्युत् नआउने जुन समस्या झेलिरहेका छन्, त्यसका पछाडि मुख्य रूपमा तीन वटा प्राविधिक कारणहरू जिम्मेवार रहेको प्राधिकरणले जनाएको छ ।

पहिलो कारण गर्मी महिनामा चल्ने हावाहुरी, चट्याङ वा खराब मौसमका कारण ३३ केभी वा ११ केभीका फिडरहरूमा आकस्मिक फल्ट (खराबी) आउने गरेको र यस्तो अवस्थामा प्रणाली सुरक्षित राख्न स्वतः लाइन काटिने प्राधिकरणको तर्क छ ।

प्राविधिक टोलीले लाइनमा कहाँ समस्या आयो भनी भौतिक रूपमा खोजेर (फल्ट लोकेट गरेर) पुनः सञ्चालन (रिकभर) गर्दा केही समय लाग्ने गरेको पनि प्राधिकरण बताउँछ ।

प्राधिकरणका अनुसार दोस्रो कारण, स्थानीय स्तरमा अत्यधिक लोड र उपकरणको खराबी मानिएको छ । क्षमताभन्दा बढी विद्युत् प्रवाह हुँदा स्थानीय ट्रान्सफर्मरहरूमा जोडिएका तारहरू जल्ने, फ्युज जाने र कतिपय अवस्थामा तार नै चुँडिने समस्या आउने गरेको प्राधिकरणको भनाइ छ ।

यस्ता समस्या तत्काल समाधान गर्न प्राविधिक टोलीलाई सम्बन्धित ठाउँमा पुगेर काम फत्ते गर्न न्यूनतम १५ देखि २० मिनेटको समय लाग्छ, जसलाई नागरिकले लाइन गएको रूपमा बुझ्ने गरेको पनि प्राधिकरणको भनाइ छ ।

मर्मत सम्भार र प्राविधिकको सुरक्षा बारम्बार विद्युत् जानुको तेस्रो कारण रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार एउटा फिडर अन्तर्गत सयौँ ट्रान्सफर्मर र हजारौँ उपभोक्ता जोडिएका हुन्छन् ।

कुनै एउटा सानो गल्ली वा टोलमा आगलागी हुँदा, ट्रान्सफर्मर मर्मत गर्नुपर्दा वा रुखका हाँगाहरू काट्नुपर्दा कार्यरत प्राविधिकहरूको जीवन रक्षाका लागि अनिवार्य रूपमा मुख्य सब–स्टेसन वा फिडरबाटै लाइन बन्द (सटडाउन) गर्नुपर्ने हुन्छ । एउटा ठाउँको मर्मतका लागि लाइन काट्दा सोही फिडरमा जोडिएका अन्य उपभोक्ताहरूले समेत केही समयका लागि ट्रिपिङको सामना गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुन्छ ।

विगत जेठ ३१ गतेदेखि दिनमा र विशेष गरी रातको समयमा दुई–तीन पटक विद्युत् आपूर्ति लामो समयसम्म अवरुद्ध भएको घटनालाई लिएर उपभोक्ताहरू थप आक्रोशित बनेका थिए । यस विषयमा स्पष्टीकरण दिँदै प्रमुख रेग्मीले भने, “त्यो समयमा भैरहवा वितरण केन्द्रले जानाजानी लाइन काटेको बिल्कुलै होइन । हामीलाई पनि यो प्रचण्ड गर्मीमा उपभोक्ताको लाइन काट्ने कुनै रहर हुँदैन । त्यो रातको समयमा भएको लामो अवरोध राष्ट्रिय विद्युत् प्रणाली नै अवरुद्ध (सिस्टम फेल) भएका कारण भएको हो ।”

जनमानसमा ‘सिस्टम फेल’ हुनु भनेको कुनै एउटा सामान्य भाँडो वा मेसिन बिग्रिनु जस्तो बुझाइ रहेको भन्दै उनले विद्युत् प्रणालीको जटिलताबारे बुझ्न आग्रह गरे । “बिजुली भनेको तेल, चामल वा आलु जस्तो भण्डारण (स्टोर) गरेर राख्न मिल्ने वस्तु होइन ।

नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सम्पूर्ण पावरहाउसका जेनेरेटरहरू र देशैभरिका लोड स्टेसनहरू एउटै साझा सञ्जाल (ग्रिड) मा सिन्क्रोनाइज (अभिन्न रूपमा एकाकार) भएर चलिरहेका हुन्छन्,” रेग्मीले थपे ।

यस्तो अवस्थामा देशको कुनै पनि भागमा रहेको ठुलो ट्रान्समिसन लाइन वा कालीगण्डकी जस्तो ठुलो पावरहाउसमा अचानक समस्या आयो भने, त्यसले समग्र नेटवर्कको सन्तुलन बिगार्छ र सुरक्षाका लागि देशैभरिको वा क्षेत्रीय प्रणाली स्वतः सप्लाई आउट हुन पुग्छ ।

यसरी पूर्ण वा आंशिक रूपमा सिस्टम फेल भएपछि सबै जेनेरेटरहरूलाई पुनः सुरु (स्टार्ट) गर्न, फ्रिक्वेन्सी मिलाउन र समग्र क्षेत्रमा लोड व्यवस्थापन गरी प्रणालीलाई पूर्ववत् अवस्थामा फर्काउन कम्तीमा ४५ मिनेटदेखि १ घण्टा वा सोभन्दा बढी समय लाग्छ ।

प्रणालीको मुख्य सब–स्टेसनमा भोल्टेजको कुनै समस्या नभए तापनि ट्रान्सफर्मरबाट भौगोलिक रूपमा धेरै टाढा रहेका ग्राहकहरूको घरसम्म विद्युत् पुग्दा भोल्टेज कम (लो–भोल्टेज) हुने गुनासो पनि व्यापक छ । गर्मीमा एकैसाथ सबैले एसी, फ्रिज र मोटर चलाउँदा लाइनको अन्तिम बिन्दुमा रहेका ग्राहकले लो–भोल्टेजको सामना गर्नुपरेको प्राधिकरणको स्वीकारोक्ति छ ।

यस समस्याको दीर्घकालीन समाधानका लागि वितरण केन्द्रले ग्राहकहरूसँग सहकार्यको अपेक्षा राखेको छ । उपभोक्ताहरूले आफ्नो क्षेत्रमा भोल्टेजको समस्या सुधार गर्न वा नयाँ ट्रान्सफर्मर थप्नुपर्ने आवश्यकता महसुस गरेमा सोको लिखित जानकारी वा निवेदन वितरण केन्द्रमा समयमै बुझाउन अनुरोध गरिएको छ ।

यसले गर्दा आगामी वर्षको गर्मी सुरु हुनु अगावै बजेट तथा योजना तर्जुमा गरी नयाँ ट्रान्सफर्मर जडान गर्न प्राधिकरणलाई सहज हुनेछ । नेपालमा सर्वसाधारण अँध्यारोमा बस्नुपर्ने वा ट्रिपिङ भोग्नुपर्ने तर प्राधिकरणले भारततर्फ बिजुली निर्यात गरिरहेको भन्ने सामाजिक सञ्जालमा फैलाइएको हल्ला पूर्णतः गलत र भ्रामक रहेको केन्द्र प्रमुख रेग्मीले दाबी गरेका छन् ।

तथ्यगत विवरण प्रस्तुत गर्दै उनले हाल नेपालको कुल विद्युत् उत्पादन क्षमता ४ हजार मेगावाटभन्दा माथि पुगिसकेको जानकारी दिए । वर्षा याममा नदीहरूमा पानीको बहाव बढ्दा नेपालको आन्तरिक माग (जुन बढीमा २,२०० देखि २,५०० मेगावाट मात्र हो) भन्दा धेरै बढी बिजुली उत्पादन हुन्छ ।

आन्तरिक माग धानेर बढी भएको विद्युत् प्रणालीमा खपत नभए स्वतः खेर जाने (स्पिल हुने) भएकाले देशको अर्थतन्त्रलाई टेवा पु¥याउन र वित्तीय नोक्सानी हुन नदिन भारतमा बेच्नु आवश्यक र बुद्धिमानी भएको रेग्मीको तर्क छ । नेपालमा हाल घोषित वा अघोषित कुनै पनि प्रकारको लोडसेडिङ नरहेको र केवल प्राविधिक मर्मत सम्भारका कारण मात्र केही समय लाइन अवरुद्ध हुने गरेको उनले स्पष्ट पारे ।

यसै गरी, विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रले उपभोक्ताहरूलाई परेको असुविधाप्रति संवेदनशील रहेको जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष विद्युत् प्रणाली र ट्रिपिङको समस्यामा धेरै हदसम्म सुधार ल्याइएको दाबी गर्दै केन्द्रले आगामी दिनमा वितरण प्रणालीका पूर्वाधारहरूलाई थप सुदृढ, आधुनिक र जनमुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्राधिकरणले उपभोक्ताहरूलाई अफवाहको पछि नलाग्न र विद्युतसम्बन्धी कुनै पनि गुनासो वा आकस्मिक समस्या आएमा सिधै वितरण केन्द्रको कार्यालय वा प्राविधिक टोलीलाई सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?