Butwal Today

पहिरोले ग्रामीण सडक ठप्प

१३ आश्विन २०८३, मंगलवार
अ
अ+
अ-

पाल्पा । चार दिनदेखि परेको अविरल वर्षासँगै आएको पहिरोका कारण पाल्पाका अधिकांश ग्रामीण सडक तथा सहायक मार्ग अवरुद्ध भएका छन् ।

सडक अवरुद्ध हुँदा गाउँबस्तीको यातायात सम्पर्क टुट्नुका साथै किसानले उत्पादन गरेको दुध, तरकारी, खुर्सानीलगायत कृषि उपज बजारसम्म पु¥याउन नपाउँदा ठूलो क्षति बेहोर्नुपरेको छ । वर्षासँगै नदीमा आएको बाढीका कारण कालीगण्डकी नदीमाथिका दुई वटा पक्की पुलमा क्षति पुगेपछि आवागमनसमेत रोकिएको छ ।

कालीगण्डकी करिडोरअन्तर्गत रामपुर नगरपालिका र स्याङ्जाको चापाकोट नगरपालिकालाई जोड्ने पक्की पुलमा क्षति पुगेपछि तत्कालका लागि आवागमनमा रोक लगाइएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

सडक डिभिजन कार्यालयका निमित्त प्रमुख पवित्रमणि आचार्यका अनुसार पुलमा क्षति पुगेकाले जोखिमलाई ध्यानमा राखेर आवागमन रोकिएको हो । “कालीगण्डकीमा आएको बाढीका कारण पुलमा क्षति पुगेपछि तत्काल आवागमन रोकिएको छ,” उनले भने ।

त्यसैगरी रामपुरदेखि मित्याल हुँदै पूर्वी नवलपरासीको अरूणखोला जोड्ने सडकखण्डमा पर्ने नदीमाथिको पुलमा समेत क्षति पुगेको छ । उक्त पुलमा क्षति पुगेपछि अर्को व्यवस्था नभएसम्मका लागि आवागमन रोकिएको आचार्यले बताए । लगातारको वर्षाका कारण बुटवल–पाल्पा सडकखण्डसमेत पहिरोको उच्च जोखिममा परेको छ । वर्षा भइरहँदा सडकमा पहिरो खस्ने र केही समयपछि सडक खुलाउने क्रम दोहोरिएको स्थानीय बताउँछन् ।

ग्रामीण सडकतर्फ रूपन्देहीको सालझण्डीदेखि रैनादेवी छहराको सुन्दरेढुङ्गा जोड्ने मोटरबाटो दर्जनौँ स्थानमा पहिरो खसेपछि अवरुद्ध भएको स्थानीय सुरेश रायमाझीले बताए । सडकमा विभिन्न स्थानमा पहिरो खसेका कारण यातायात सञ्चालन गर्न कठिन भएको उनको भनाइ छ ।

रिब्दीकोट गाउँपालिकाको मुख्य सडकदेखि मुझुङ–मैनादी जोड्ने मोटरबाटोसमेत पहिरोका कारण पूर्ण रूपमा बन्द भएको स्थानीय दोलखबहादुर कार्कीले बताए ।

 

उनका अनुसार ग्रामीण सडक निर्माण गर्दा भूगोल र पानीको निकासलाई पर्याप्त ध्यान नदिइएकाले सामान्य वर्षामा समेत पहिरोको जोखिम बढ्ने गरेको छ ।
“मेसिन प्रयोग गरेर सडक बनाइएका छन् । सडक निर्माणसँगै भूक्षय बढेको छ र पहिरोको जोखिम पनि उच्च छ,” कार्कीले भने ।
तिनाउ गाउँपालिकाको तल्लो कचल गाउँमा पनि पहिरोका कारण चार दिनदेखि बजारसँगको सडक सम्पर्क टुटेको स्थानीय कृष्णकुमारी रानाले बताइन् । गाउँदेखि बजार जोड्ने करिब सात किलोमिटर सडकमा मात्रै १० भन्दा बढी स्थानमा पहिरो खसेको उनले जानकारी दिइन् ।

“सात किलोमिटर सडकमा १० भन्दा बढी ठाउँमा पहिरो गएको छ । ठाउँठाउँमा सडकसमेत कटान भएको छ,” रानाले भनिन्, “यस पटकको बेमौसमी वर्षाले सडकसँगै कृषिमा पनि ठूलो नोक्सान गरेको छ ।”

तिनाउकै तरकारी उत्पादनका लागि सम्भावनायुक्त मस्यामको पुग्दी गाउँ जोड्ने मोटरबाटोसमेत अवरुद्ध भएको स्थानीयले बताएका छन् । सडक अवरुद्ध हुँदा उत्पादित तरकारी बजारसम्म पु¥याउन समस्या भएको उनीहरूको भनाइ छ ।
लगातारको वर्षाका कारण पूर्वखोला जोड्ने विभिन्न ग्रामीण सडकसमेत अवरुद्ध भएका छन् ।

माथागढी गाउँपालिकाको केन्द्रदेखि रूपन्देहीको खैरेनी जोड्ने मोटरबाटो पहिरोका कारण अवरुद्ध भएको स्थानीयले बताएका छन् ।

सडक अवरुद्ध भएपछि स्थानीय तहले सडक खुलाउने प्रयास गरे पनि लगातारको वर्षा र पहिरो खस्ने क्रम नरोकिएकाले समस्या भएको जनप्रतिनिधिहरूले बताएका छन् । वर्षा रोकिएपछि मात्रै कतिपय सडकमा पहिरो हटाउने र यातायात सञ्चालन गर्ने काम अघि बढाउन सकिने उनीहरूको भनाइ छ ।

पाल्पाका गाउँबस्तीलाई सदरमुकाम तथा बजार क्षेत्रसँग जोड्ने अधिकांश ग्रामीण सडक अहिले पहिरोका कारण प्रभावित भएका छन् । सडक अवरुद्ध हुँदा बिरामीलाई उपचारका लागि अस्पताल लैजानदेखि दैनिक उपभोग्य वस्तु गाउँसम्म पु¥याउनसमेत समस्या भएको स्थानीय बताउँछन् ।

तर सडक अवरुद्धको सबैभन्दा ठूलो असर कृषि क्षेत्रमा परेको किसानहरूको भनाइ छ । दूध, तरकारी, खुर्सानीलगायत छिटो बिग्रने कृषि उपज बजारसम्म पु¥याउन नपाउँदा किसानले प्रत्यक्ष आर्थिक क्षति बेहोर्नुपरेको रिब्दीकोटका अगुवा कृषक खिमानन्द पोखरेलले बताए ।

“ग्रामीण सडक बन्द हुँदा किसानले उत्पादन गरेको दूध, तरकारीलगायत वस्तु बजारसम्म लैजान सकेका छैनन्,” पोखरेलले भने, “यस पटकको बेमौसमी वर्षाले खुर्सानी खेती गर्ने किसानलाई झन् ठूलो समस्या भएको छ ।”

पाल्पाका विभिन्न क्षेत्रमा अहिले खुर्सानी उत्पादनको समय भएकाले लगातारको वर्षा र सडक अवरुद्ध हुँदा पाकेर राताम्य भएका खुर्सानी खेतमै कुहिने अवस्था आएको खुर्सानी व्यवसायी जनक आचार्यले बताए ।
“पाकेर राताम्य भएका खुर्सानी समयमै टिपेर बजार पु¥याउन सकिएन । अहिले खेतमै कुहिने समस्या देखिन थालेको छ,” आचार्यले भने ।

तिनाउ गाउँपालिका–सत्यवतीकी अगुवा कृषक भगवती दर्लामीले पनि सडक अवरुद्ध हुँदा कृषि उपज बजारसम्म पु¥याउन नसकिएको बताइन् । उत्पादन राम्रो भए पनि सडक बन्द हुँदा बिक्री गर्न नपाएपछि किसानलाई दोहोरो समस्या भएको उनको भनाइ छ ।

निस्दी गाउँपालिका–मुडाबासका कृषक वीरबहादुर सुनारीका अनुसार गाउँपालिकाको केन्द्रसम्म जोड्ने करिब सात किलोमिटर सडकमा मात्रै १० स्थानमा पहिरो खसेर सडकमा क्षति पुगेको छ । गाउँबाट उत्पादित कृषि उपज बजारसम्म लैजानसमेत समस्या भएको उनले बताए ।

ढुङ्गानाबेँसी–मित्याल सडकखण्डसमेत दर्जनौँ स्थानमा पहिरो खसेपछि अवरुद्ध भएको थियो । स्थानीयका अनुसार उक्त सडक सोमबार बेलुकादेखि आंशिक रूपमा सञ्चालनमा आएको छ ।
वर्षाका कारण पाल्पाका ग्रामीण सडकमा ठाउँठाउँमा पहिरो खस्ने र सडक कटान हुने क्रम जारी रहेकाले यातायात पूर्ण रूपमा सहज हुन सकेको छैन । सडक खुलाउने प्रयास भइरहे पनि वर्षा नरोकिँदा काममा समेत समस्या भएको स्थानीय तहले जनाएका छन् ।

वर्षायाममा जोखिमयुक्त स्थान पहिचान नगरी तथा पानीको उचित निकासको व्यवस्था नगरी निर्माण गरिएका ग्रामीण सडकमा हरेक वर्ष पहिरोको समस्या दोहोरिने गरेको स्थानीयको गुनासो छ । सडक निर्माणसँगै भूक्षय नियन्त्रण, पानीको निकास र जोखिम न्यूनीकरणका उपायमा ध्यान दिन नसक्दा ग्रामीण सडक वर्षामा बढी प्रभावित हुने गरेका छन् ।

यस पटकको बेमौसमी वर्षाले सडक पूर्वाधारसँगै कृषि उत्पादनमा समेत असर पु¥याएपछि ग्रामीण अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव परेको छ । सडक अवरुद्ध भइरहने हो भने किसानको खेतबारीमा रहेको कृषि उपज बजारसम्म पुग्न नसक्ने र उत्पादन खेर जाने जोखिम थप बढ्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?