Butwal Today

बौद्ध सम्पदा उजागरमा खडग समशेरको योगदान

१३ आश्विन २०८३, मंगलवार
अ
अ+
अ-

खडग समशेर को हुन् ?
तत्कालीन नेपाली सेनाका कमान्डर–इन–चीफ धीर शमशेरको छोराको रूपमा १६ फेब्रुअरी १८६१ मा काठमाडौंमा खड्ग शमशेरको जन्म भएको थियो ।

उनी धीर शमशेरका छोरामध्ये तेस्रो, तर नन्दकुमारीतर्फका जेठा छोरा थिए । युवावस्थामै खड्ग शमशेर नेपाली सेनामा प्रवेश गरे र क्रमशः उच्च सैनिक पदमा पुगे । रणोद्विपसिंह कुँवर राणा प्रधानमन्त्री हुँदा खड्ग शमशेर उनको प्रिय मान्छेहरूमा पर्दथे । तर उनै खड्गले दाजु वीर शमशेर लगायत भाईहरूको सहयोगमा वि.स. १९४२ मा तत्कालीन प्रधानमन्त्री रणोदिप सिंहको हत्या गरे र वीर शमशेर प्रधानमन्त्री बने ।

त्यो हत्याकाण्ड पछि कमान्डर–इन–चीफ भएका खड्ग समशेर महत्वाकांक्षी थिए र उनको महत्वाकांक्षा वीर समशेरको लागि खतरा बन्न सक्ने ठानेर वि.स. १९४३ फाल्गुन २० गते खड्ग समशेरलाई पदमुक्त गरि कडा नजरबन्दमा ठाडा पठाईयो । ठाडामा करिब २ वर्ष बसेपछि उनि तानसेन जान पाए र पछी पाल्पा गौंडाका तैनाथवाला तथा पश्चिम क्षेत्रका कमान्डर इन चिफ नियुक्त भए ।

तानसेनमा रहंदा नै उनको कान्छी रानी तेज कुमारीको निधन भएको थियो र उनैको स्मृतिमा खड्गले रानीमहल बनाएका थिए । चन्द्र समशेर प्रधानमन्त्री बनेपछि पनि खड्गलाई शंकाले नै हेरियो । चन्द्र समशेरले खड्गले आफुलाई हटाएर प्रधानमन्त्री बन्न खोजेको ठान्ने र खड्गले भाइ चन्द्रले आफुलाई अपमान गरेको ठान्ने काम भैरह्यो ।

कुनैपनि बेलामा चन्द्रको कोपभाजनमा पर्न सक्ने भएकोले पाल्पाको सरकारी ढुकुटीमा रहेको सम्पत्ति समेत साथमा लिएर वि.स. १९६० (सन् १९०३) मा उनि भारतमा निर्वासनमा गए । उनि उत्तर भारतका शहरमा बस्न चाहेको भएपनि मसुरीमा बस्ने देव समशेरसंग मिलेर चन्द्र समशेरको विरुद्ध षडयन्त्र गर्न सक्ने डरले उनलाई नेपालदेखि टाढा पर्ने भारत मध्य प्रदेशको सागर भन्ने ठाउँमा बसोबासको लागि अनुमति दिइयो । त्यहि सागर मै २२ डिसेम्बर १९२१ मा उनको मृत्यु भयो ।

लुम्बिनीको खोजी

खड्ग शमसेरलाई धेरैले रानी महलको निर्माताको रूपमा चिन्छन् । उनले आफ्नी पत्नीको सम्झनामा काली गण्डकीको किनारमा बनाएको कलात्मक दरबार अहिले प्रेमको प्रतिकको रूपमा ठडिएको छ । खडक समशेरलाई रानीमहलको निर्माताको रूपमा मात्र धेरैले चिन्ने भएपनि लुम्बिनीको पहिचानमा उनको महत्वपूर्ण योगदान रहेको कुरा थोरैलाई मात्र थाहा छ । फुहरराले लुम्बिनी पत्ता लगाएका हुन् भन्ने कुरा नेपालीलाई घोकाईएकोले पनि लुम्बिनी लगायतका बौद्ध स्थलहरूको पहिचानमा उनको योगदान ओझेलमा परेको छ ।

उन्नाइशौ शताब्दीको अन्त्यतिर भारतमा बौद्ध स्थलहरूको खोजि जोडतोडले भैरहेको थियो । ब्रिटिश पुरातावाविदहरूले थुप्रै पुरातात्विक सामाग्री र चिनिया यात्रीहरूको वर्णनको आधारमा कपिलवस्तुको पहिचान गरेका थिए । त्यसैको आधारमा लुम्बिनी पनि यसैको सेरोफेरोमा हुनसक्छ भन्दै भारतको सिमावर्ती क्षेत्रमा खोजि चलिरहेको थियो । डा. फुहरर पनि लुम्बिनीको खोजि गर्ने अनुमति लिनको लागि कपिलवस्तुमा बसेका थिए ।

रुम्मिनदेई क्षेत्रमा जंगल कटान गरिरहेका केहि मानिसले जंगलभित्र ढिस्कोमा ढुंगाको स्तम्भको केहि भाग देखेपछी स्थानिय चौधरी मार्फत खड्ग समशेर्लाई सूचना दिए । खड्ग समशेरले तत्कालै त्यहाँ पुगेर स्तम्भ वरपरको माटो हटाउन लगाए । जनरल खडग शमसेरले लुम्बिनीको उत्खनन गरिरहेको बेलामा सन् १८९६ डिसेम्बर १ मा फुहरर त्यहाँ आइपुगे । ब्राम्ही लिपिमा लेखिएको कुरा नेपालीले खुट्याउन नसकेकोले त्यो जिम्मा लिएर अशोक स्तम्भको तस्विर खिचेर फुहरर इलाहाबाद फर्किए ।

उनले लुम्बिनी पत्ता लगाएको कुरा द पायोनियरमा छपाए । लुम्बिनीको पहिचान भएको कुरा विस्वका धेरै पत्रपत्रिकाहरूले पनि लेखे । सबैले लुम्बिनी पत्ता लगाउनमा फुहररको योगदान भएको कुरा लेखेपनि खड्ग समशेरको योगदान भने ओझेलम प¥यो । लामो समयसम्म लुम्बिनी कसले पत्ता लगायो? भन्दै नेपालीहरूलाई ’ फुहररले भन्ने उत्तर घोक्न लगाइयो ।

बौद्धकालिन स्थलको उजागर

जनरल खडग समशेरले लुम्बिनीको मात्र नभएर यस क्षेत्रको बौद्धकालिन सम्भावना भएका क्षेत्रको बारेमा पनि खोजि गरेका थिए । बुद्धिस्ट आर्कियोलोजी ईन नेपाल तराई (Buddhist Archaeology in the Nepal Terai) शिर्षकमा उनका ३ वटा लेखहरू सन् १९०४ मा द पायोनियर पत्रिकाका ३ अंकहरू (फेब्रुअरी १, फेब्रुअरी ६ र फेब्रुअरी २१ )मा प्रकाशन भएका थिए । उक्त लेखहरू पाकिस्तानको राष्ट्रिय अभिलेखालयबाट प्राप्त गरेर नेपाल राष्ट्रिय अभिलेखालयले प्रकाशन गरेको थियो । उक्त लेखहरूको पुनर्मुद्रण धेरैले गरेका छन् ।

खडग समशेरले फाहियान र हुयान सांगको यात्रा वर्णन र रकहिलको पुस्तक अध्ययन गरेर तथा आफुले स्थलगत अध्ययन गरेको आधारमा थुप्रै बौद्ध स्थलहरूको बारेमा उजागर गरि लेखे लेखेको पाइन्छ । उनको पहिलो लेखमा श्रावस्ती, कपिलवस्तु, ठाडा र निग्लिहवाको वर्णन गरिएको छ । भारतम बौद्धकालिन शहर श्रावस्तीको उत्खनन र प्रचार चलिरहेको समयमा उनले निकै हिम्मतका साथ सुर्खेत उपत्यका नै श्रावस्ती हुनुपर्ने उल्लेख गरेका थिए ।

सुर्खेतमा भेटिएको भग्नावशेष ( शायद कांक्रे बिहार), पहाडको अवस्थिति, खेत तथा त्यहाँ लगाइएको बालि, बाँकी÷ नेपालगंजदेखिको दुरीको आधारमा श्रावती वा शाकेत सुर्खेत, दांगमा नै हुनुपर्ने उनको भनाई थियो । उनले मात्र नभएर पुरातत्वविद भिसेन्ट स्मिथले समेत प्राचिन श्रावस्थी नेपालगंज उत्तरको क्षेत्रमा नै हुनुपर्ने उल्लेख गरेको भएपनि नेपालतर्फबाट त्यसको पुरातात्विक अध्ययन हुन सकेन ।

खडग समशेरको अर्को लेख ( १ फेव्रुअरी १९०४ ) मा कपिलवस्तु शहरको बारेमा वर्णन गरिएको छ । चिनिया यात्रीको वर्णन र तत्कालिन भौगोलिक स्थितिको आधारमा उनले तिलौराकोट, तौलिहवा र निग्लिहवाको अवस्थिति उल्लेख गरेका छन् । उनका अनुसार कपिलवस्तु सहरको सीमाना उत्तरमा सगरहवा, श्रीनगर र बिकुली; दक्षिणमा तौलिहवा; पूर्वमा जुम्नार नदी; र पश्चिममा बाणगंगा नदीले निर्धारण गरेको देखिन्छ ।

उनले आफैले तिलौराकोटको दुई पटक निरीक्षण गरेको र भग्नावशेष हटाउँदा यहाँका धेरैजसो पर्खालहरू—विशेष गरी उत्तरतर्फको पर्खाल—अझै पनि ठिंग उभिएका देखिएको तथा यसको घेराको परिधि दुई माइलभन्दा केही कम भएको उल्लेख गरेका छन् । उनले हालको श्रीनगर गाउँलाई राजधानी शहर हुनसक्ने संकेत गरेका छन् । यो लेखमा सग्रहवा, निग्लिहवा, तौलिहवा, गोटिहवा, कुहा, हातिहवा, छोटी तौलिहवा, सौरहवा, बिकुली, श्रीनगर, सैनामैना ( पुरानो राजधानी), ढवाहा, डहर गाउँ, केदली, पडरिया, लुम्बिनी, प्रसिद्ध बटौली (बुटवल) बुद्धकालीन शहर भएको उल्लेख गरेका छन् ।

खड्ग समशेर काठमाण्डौबाट निस्कासित भएको बेलामा करिब २ वर्ष अर्घाखाँचीको ठाडामा बसेका थिए । यहाँ बस्दा उनको अध्ययन र स्थानीय क्षेत्रको बारेमा जानकारी लिने काम चलिरहेको रहेछ । पहिलो लेखमा उनले अर्घाखाँचीमा पर्ने ठाडा र जोगी दमारलाई बुद्धसंग जोडिएका स्थानको रूपमा उनले वर्णन गरेका थिए ।

उनले असिता ऋशि सिद्धारा वा सिताखोला छेउछाउको हुन सक्ने आधार प्रस्तुत गरेका छन्, यसैगरी जोगी दमारमा भग्नावशेष भेटिएको र यो स्थान कपिल ऋषिले ध्यान गर्ने ठाउँ हुनसक्ने उल्लेख गरेका छन् ।

६ फेब्रुअरीको अर्को लेखमा उनले तौलेस्वर महादेव मन्दिरमा भएको शिबलिंग रातो ढुंगाबाट बनेको अशोक स्तम्भ भएको हुनसक्ने र आफुले केहि वर्ष अघि यसको उत्खनन गर्न नसकेकोमा थकथकी मानेका छन् । भगवान बुद्ध र बौद्ध धर्मसँग सम्बन्धित विषयमा ब्रिटिश पुरातत्वविद साम्युएल बीलका पुस्तकमा उल्लेखित कुराहरूलाई आधार मान्दै उनले लामो समयसम्म जमिन भित्र ( तल) रहेको वस्तुलाई तलहवा भन्दै तौलिहवा र तौलेस्वर मन्दिर बनेको उल्लेख गरेका छन् ।

अरू लेखमा उनले कुदान ( छोटी तौलिहवा) सग्रहवा, बिकुली जस्ता पुरातात्विक स्थलाको समेत वर्णन गरेका छन् । विशौ शताब्दीमा अधिकांश पुरातत्वविदहरूले यिनै स्थानमा केन्द्रित रहेर बौद्ध स्थलहरूको खोजि गरिरहेका छन् ।

२१ फेब्रुअरीको तेश्रो लेखमा खडक समशेरले सैनामैना, केदली, चिल्हिया, खैरेनी, बैशाली जस्ता स्थानको उल्लेख गरेका छन् । उनले लेखमा सैनामैनामा आफुले स्थलगत अध्ययन गर्दा एउटा मुर्ति फेला पारेको र त्यो मुर्ति सिद्धार्थलाई स्तनपान गराएको मुर्ति भएको उल्लेख गरेका छन् ।

उनले ढवाहा ( दवाहा?), डहरगाउ, जस्ता स्थानहरू त्यसबेला भएको र ति नामहरूले देव–दहलाइ संकेत गर्ने भएकोले सैनामैना नै प्राचिन कोलिय राज्यको राजधानी भएको उल्लेख गरेका छन् । उनले केदली वनलाइ पनि बौद्धकालिन वन भनि वर्णन गरेका छन् । हाल उल्लेखित स्थानमा घना वस्ती छ । बैशालिको बर्णन गर्ने क्रममा उनले बिरुढकले नरसंहार गरेपछि शाक्यहरू आएर बुटवलमा बसेको, पाल्पा र बुटवल बौद्धकालिन महत्वका शहर भएको उल्लेख गरेका छन् ।

उनले तत्कालिन वस्तिहरू भलुही, सिंगाहा, घोडाहा र बघौरा ( हालको भवानीपुर ) बुद्धकालीन वस्ती भएको उल्लेख मात्र गरेका छैनन, बुटवल पुर्व सुखौरा क्षेत्रको वन नै चिनिया यात्रीले उल्लेख गरेको बेलुवन भएको समेत लेखेका छन् ।

चिनिया यात्रीहरू, अन्वेषक स्मिथ र मुखर्जीको हवाला दिदै खडक समशेरले तिनाउ नदि पूर्वमा पर्ने चिल्हियालाइ बौद्ध भिक्षुहरू बस्ने स्थानको रूपमा वर्णन गरेका छन् । यस लेखमा कुन्जलापुर, मंगलापुर, गणेशपुरलाइ पनि बुद्धसंग सम्बन्धीत स्थानको रूपमा उल्लेख गरेका छन् ।

यसैगरी रोहिणी नदीदेखि केहि पूर्वमा खैरेनी गाउँमा नै बुद्धले मुन्डन गरेको उनले अनुमान गरेका छन् । सस्कृत भाषामा कपाल काट्ने कामलाई खसौरिन भनिने र यसैबाट खैरेनी शब्द बनेको उनको अनुमान छ । उनले देवी दमार, बासा, तिलकाना, उज्जैनी, पाल्ही, राजाबारी जस्ता गाउँहरूलाई पनि रकहिलको पुस्तकलाई सन्दर्भ मानेर बौद्धकालिन गाउँको रूपमा वर्णन गरेका छन् ।

उनको लेखमा पाल्ही÷ परासी इल्लाकामा पर्ने नगवा टप्पा नै लुमो नामक बुद्धकालीन स्थान भएको उल्लेख भएको देखिन्छ ।
जनरल खडक समशेर बौद्ध अध्ययन र पुरातत्वमा रुची राख्ने मानिस भएकोले लुम्बिनीको खोजीमा उत्साहकासाथ लागेको देखिन्छ ।

उनले लुम्बिनीको बारेमा लेखेका लेखहरू नभेटिएपनि रूपन्देही, कपिलवस्तु, नवलपरासी, अर्घाखाँची र सुर्खेतमा थुप्रै स्थानहरू बुद्धकालीन वा बुद्धसंग सम्बन्धित स्थान हुनसक्ने कुरा विदेशी पत्रिकामा लेखेर विदेशी अनुसन्धाताको समेत ध्यानाकर्षण गर्न खोजेका थिए ।

लुम्बिनीको खोजीमा उनको योगदानको कदर त गरिएन नै, उनले प्रारम्भिक खोजि गरेका अधिकांश स्थानहरूको अहिलेसम्म पनि अध्ययन र अनुसन्धान हुन सकेको छैन । उनले १२२ वर्ष पहिले लेखमा उल्लेख गरेका गाउँ ठाउँहरू अहिलेपनि सोहि नामबाट नै परिचित छन् । तर यो अवधिमा ति स्थानमा रहेका पुरातात्विक सम्पदाहरू भने मासिएका वा स्वरूप परिवर्तन गरिएका छन् ।

उनको लेखलाई आधार बनाएर अबका दिनमा खोजि गर्ने हो भने पनि धेरै ऐतिहासिक र पुरातात्विक उपलब्धि हासिल गर्न सकिन्छ, यो नै खडग समशेरप्रतिको वास्तविक सम्मान पनि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?