Butwal Today

वामपन्थी सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुन्छ : प्रचण्ड

१४ असार २०८३, आइतबार
अ+
अ-

काठमान्डौँ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक प्रचण्डले वामपन्थी एकताका लागि सहकार्य गर्न ढिला गर्नु ठूलो गल्ती हुने बताएका छन् ।

नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले मिलेर अघि बढे मात्रै सफलता हासिल गर्न सकिने बताए ।

उनले तत्काल पार्टी एकता गर्ने कुरा नभए पनि कार्यगत एकतामा भने ढिलाइ गर्न नहुने धारणा राखे । हामीले ढिलाइ गर्नु हुँदैन । राष्ट्रिय स्वाधीनताको पक्षमा, निरंकुशताविरुद्ध, वैदेशिक दबाब र हस्तक्षेपविरुद्ध छिटोभन्दा छिटो वामपन्थी र देशभक्त शक्तिहरू एक हुनुपर्छ । यसमा ढिलाइ गर्नु ठूलो गल्ती हुन्छ,’ प्रचण्डले भने ।

उनले विचार मिल्ने शक्तिहरूबीच एकता गर्न ढिलाइ गर्दा त्यसले ठूलो दुर्भाग्य निम्त्याउन सक्ने बताए । ‘केही साथीहरूले पार्टी एकता गरिहाल्ने भन्यो, बुझ्नै सकिएन भन्छन् । मलाई अनौठो लाग्छ । मैले आजै वा भोलि नै पार्टी एकता गरौँ भनेको होइन । मैले त सहकार्य आजै सम्भव छ भने आजै गरौँ, साँझसम्म सम्भव छ भने साँझै गरौँ, भोलि सम्भव छ भने भोलि नै गरौँ भनेको हुँ,’ उनले भने ।

प्रचण्डले वर्तमान सरकार संविधानका आधारभूत व्यवस्थामाथि प्रहार गर्नतर्फ उन्मुख रहेको आरोप पनि लगाए ।

‘सरकार संविधानका आधारभूत विषयमाथि प्रहार गर्न र उत्पीडित समुदायमाथि आक्रमण गर्न उद्धत देखिँदै गएको छ । यसको मुख्य लक्ष्य कम्युनिस्ट आन्दोलनलाई कसरी कमजोर बनाउने भन्ने रहेको छ,’ उनले आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?