© 2026
काठमान्डौँ ।
१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि नेपाली कांग्रेसले प्रश्न उठाएको छ ।
आइतबार प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेका थिए । सभामुखले समय दिएपछि कांग्रेसका तर्फबाट बोल्दै सांसद रेनुका काउचाले संविधान र कानुनले १८ वर्षमुनिका बालबालिकालाई राजनीतिक दलको सदस्य बन्न नदिने व्यवस्था गरेको बताइन् ।
‘रास्वपाको सदस्यताको विवरण हेर्दा १८ वर्षमुनिका ३५ हजार २५७ जना सदस्य रहेको देखिन्छ । औपचारिक रूपमा सार्वजनिक गरिएको यस विषयप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनिन् ।
उनले प्रश्न गर्दै भनिन्, ‘के रास्वपा संविधानभन्दा माथि छ ?’
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ अनुसार कुनै पनि राजनीतिक दलको सदस्य बन्न नेपाली नागरिक हुनुका साथै १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ । ऐनको परिच्छेद–३ अन्तर्गत दफा १४ मा सदस्यताको योग्यताबारे यही व्यवस्था उल्लेख गरिएको छ ।
यही कानुनी व्यवस्थाविपरीत रास्वपाले आफ्नो प्रथम महाधिवेशनमा करिब ३५ हजार १८ वर्षमुनिका बालबालिकालाई सदस्यका रूपमा सूचीकृत गरेको विवरण सार्वजनिक भएपछि संसद्मा समेत प्रश्न उठेको हो ।
चितवनमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनमा महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनअनुसार पार्टीको कुल सदस्य संख्या ५ लाख २३ हजार ४६५ रहेको छ । त्यसमध्ये ३५ हजार २५७ जना अर्थात् ६.७ प्रतिशत सदस्य १८ वर्षमुनिका रहेका छन् ।
राजनीतिक दल सम्बन्धी ऐनमात्र होइन, बालबालिका सम्बन्धी ऐन, २०७५ ले पनि बालबालिकालाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न निषेध गरेको छ ।
उक्त ऐनको दफा २ (ञ) अनुसार १८ वर्ष उमेर पूरा नगरेका प्रत्येक व्यक्ति बालबालिका मानिन्छ । साथै, दफा ७ को उपदफा (७) मा कुनै पनि बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ ।
यस विषयमा संसद्मा प्रश्न उठे पनि रास्वपाका नेताहरूले भने हालसम्म औपचारिक प्रतिक्रिया दिएका छैनन् ।