© 2026
काठमान्डौँ ।
पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण सुरु भएको छ ।
विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिले स्वीकृत गरेको पूर्वनिर्धारित कार्यतालिकाअनुसार तीनवटै विश्वविद्यालयका उम्मेदवारहरूको अन्तर्वार्ता र मूल्याङ्कन प्रक्रिया समानान्तर रूपमा सञ्चालन गरिएको हो ।
उच्च शिक्षाको गुणस्तरीय रूपान्तरण, विश्वविद्यालयहरूको संस्थागत सुदृढीकरण तथा सक्षम, दूरदर्शी, नवप्रवर्तनमुखी र परिणाममुखी शैक्षिक नेतृत्व चयन गर्ने उद्देश्यले सञ्चालन गरिएको यस प्रक्रियाले विश्वविद्यालय प्रशासनमा योग्यता, उत्तरदायित्व र उत्कृष्टताको संस्कृतिलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ । यस प्रक्रियासम्बन्धी विस्तृत कार्यतालिका मन्त्रालयका आधिकारिक माध्यममार्फत सार्वजनिक गरिसकिएको जनाइएको छ ।
छनोट प्रक्रियाको पारदर्शिता, निष्पक्षता, वस्तुनिष्ठता तथा संस्थागत विश्वसनीयतालाई उच्च प्राथमिकतामा राख्दै प्रत्येक अन्तर्वार्ता प्यानलमा सम्बन्धित विषय क्षेत्रका विज्ञ तथा उपकुलपति छनोट तथा सिफारिस समितिका सदस्यहरूको सहभागिता सुनिश्चित गरिएको छ । साथै, मूल्याङ्कन प्रक्रियालाई थप प्रभावकारी, व्यवस्थित र गुणस्तरीय बनाउन प्रत्येक विश्वविद्यालयका लागि छुट्टाछुट्टै विज्ञ प्यानलको व्यवस्था गरिएको छ ।
पूर्वनिर्धारित कार्यतालिकाअनुसार सोमबार बाँकी रहेका पोखरा विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका उम्मेदवारहरूको कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता सञ्चालन गरिने जनाइएको छ ।
यसअघि शनिबार त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्पसूचीमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण सम्पन्न भएको थियो ।
यससँगै आठवटै विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया निर्धारित समयसीमाभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ । यसबाट नेपालको उच्च शिक्षा क्षेत्रमा सक्षम नेतृत्व चयन, संस्थागत सुशासन तथा शैक्षिक उत्कृष्टतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ ।