Butwal Today

अर्थमन्त्री पौडेलले भने-‘वैधानिक माध्यमबाट रेमिटेन्स आउने क्रम घट्यो’

८ माघ २०७९, आइतबार
अ+
अ-

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले रेमिटेन्स वैधानिक माध्यमबाट आउने क्रम घटेको बताएका छन्। रेमिटेन्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारको आवश्यक भएको उनले बताए।

प्रवासी नेपाली मञ्च अमेरिकाले शनिबार आयोजना गरेको नेपालमा लगानी र रेमिटेन्स विषयक छलफल कार्यक्रममा उनले सो धारणा राखेका हुन्।

भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले रेमिटेन्सलाई वैधानिक माध्यमबाट भित्र्याउन र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने अनुकूल वातावरण तयार पार्न आवश्यक सहयोगका लागि सरकार तत्पर रहेको बताए।

अर्थमन्त्री पौडेलले भने ‘रेमिटेन्स जति जेनरेट हुने गरेको छ त्यसको ठूलो हिस्सा वैधानिक माध्यमबाट भित्र्याउन सकेका छैनौं। वैधानिक माध्यमबाट भित्र्याउन लिनुपर्ने नीति, गर्नुपर्ने निर्णय वा दिनुपर्ने प्रोत्साहनका कार्यक्रमहरु अघि सार्न  सरकार तयार छ।‘

वैदेशिक लगानी तथा प्रविधि सम्बन्धी ऐनले गैरआवासीय नेपालीहरुलाई विदेशी नागरिकसरह लिएको विषयप्रति गैरआवासीय नेपालीहरुले ध्यानाकर्षण गराएको जानकारी दिँदै उनले त्यस विषयलाई सम्बोधन गर्ने  प्रतिबद्धता व्यक्त गरे।

‘नेपालको आर्थिक विकासमा प्रवासमा रहनु भएका प्रवासी नेपाली, गैरआवासीय नेपालीको अन्यन्तै ठूलो योगदान छ। आउने दिनमा अझ प्रभावशाली हुँदैछ भन्ने अपेक्षा गर्न चाहन्छु,’ अर्थमन्त्री पौडेलले आग्रह गर्दै भने, ‘रेमिटेन्सको कोणबाट मात्र होइन, वैदेशिक लगानीका निम्ति पनि नेपालको सद्‍भावना दूतका रूपमा प्रत्येक प्रवासी र गैरआवासीय नेपालीले भूमिका खेलिदिनुस् भन्ने अपेक्षा गर्न चाहन्छु। नेपाल लगानीका निम्ति सुरक्षित स्थान हो।‘