© 2026
बुटवल । कृषि उत्पादन बढाउनको लागि प्रयोग गरिँदै आएको डिएपी युरिया मलको विकल्पमा डिएपी प्राङ्गारिक मल कृषकको रोजाइमा परेको छ ।
बर्सेनि धान खेतीको बेला डिएपी युरिया मलको अभाव झेल्दै आएका कृषकहरूले प्राङ्गारिक मल विकल्पको रूपमा मात्र नभई अर्ग्यानिक उत्पादनको लागि प्रयोग गर्न थालेका छन् ।
जसले प्राङ्गारिक डिएपी मल उत्पादकहरू उत्साहित भएका छन् । कृषकको रोजाइमा प्राङ्गारिक डिएपी मल भएपछि मल उत्पादनमा लगानी बढाउन लगानीकर्ताहरू उत्साहित भएका हुन् । नेपालमा निजी तथा सहकारी मार्फत प्राङ्गारिक मल उत्पादन हुँदै आएको छ ।
ती मध्येको एक उद्योग हो–रुपन्देहीको सैनामैना नगरपालिका–४ लखनपारामा अवस्थित लुम्बिनी कृषि तथा पशुपक्षी विकास सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित प्राङ्गारिक मल उद्योग । यस उद्योगले विगत एक वर्षदेखि कृषक प्राङ्गारिक मल ब्रान्डमा प्राङ्गारिक मल उत्पादन गर्दै आएको छ । दैनिक १० टन धुलो तथा डिएपी मल उत्पादन क्षमताको यो उद्योगले अहिले दैनिक तीन टन मल उत्पादन गर्दै आएको छ । यो उद्योगले दाना तथा धुलो गरी दुई प्रकारको मल उत्पादन गर्दछ ।
मलको माग बढ्दै गएकाले उत्पादन बढाउने योजना रहेको सहकारीका अध्यक्ष प्रेम पौडेलले जानकारी दिए । सहकारीले मल उत्पादनतर्फ सञ्चालक समिति बनाएर उत्पादन गरिरहेको छ ।
सैनामैना सामुदायिक बाख्रा पालन तथा नश्ल सुधार केन्द्रका सञ्चालक समेत रहेका अगुवा कृषक प्रेम सागर पौडेल सहितको समूहले ६ वर्षको अध्ययन र अनुसन्धानबाट रुपन्देहीमा प्राङ्गारिक डिएपी मल उत्पादन सुरु गरिएको हो । युरिया लगायतका रासायनिक मलका कारण खेतीयोग्य माटोको क्षयीकरण रोक्न प्राङ्गारिक मल उत्पादन गरिएको अगुवा कृषक पौडेलको भनाइ छ ।
प्राङ्गारिक मल उत्पादन गर्न पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोग रहेको छ । उपकरण तथा प्राविधिक क्षेत्रमा केही अंश सरकारी तवरबाट सहयोग मिलेकाले केही सहज भएको उक्त सहकारीमा आबद्ध कृषकहरू बताउँछन् । उक्त सहकारीमा ९० जना शेयर सदस्य रहेका छन् । उद्योगमा सहकारीमा आबद्ध सेयर सदस्यहरू मध्येबाटै लगानी छ ।
उद्योगले कृषकको फार्मबाट बाख्रा, गाई–भैँसी कुखुरा आदि पशुपक्षीको शुद्ध गोठे मल उद्योगमा ल्याउँछ । काँचो मललाई डिकम्पोष्ट गरिन्छ । त्यसमा बोट बिरुवालाई आवश्यक पोषक तत्त्व थप गरी दानेदार आकारमा मलको उत्पादन हुने गर्दछ । यस उद्योगले धुलो मल र आवश्यक तापक्रममा रोष्टेड गरी दानामा प्राङ्गारिक मल उत्पादन गर्दछ । जुन मल कृषकको रोजाइमा परेको छ ।
उत्पादित प्राङ्गारिक मलमा नाइट्रोजन, फस्फोरस, पोटास, प्राङ्गारिक कार्वन, पिएच, क्यालसियम, क्रोमियम जस्ता तत्त्व पर्याप्त मात्रामा हुने भएकाले ढुक्कसँग प्रयोग गर्न कृषकहरूलाई कृषि विज्ञको सुझाव छ । रासायनिक मलले माटोको गुणस्तर खस्किएकाले उत्पादनमा कमी हुने हुँदा दीर्घकालीन माटोको सुधारको लागि प्राङ्गारिक मल नै उपयुक्त हुने कृषि प्राविधिक राम प्रसाद यादवको भनाइ छ ।
रासायनिक मलले माटोमा प्राङ्गारिक तत्त्व बढ्न दिँदैन । यदि माटोमा प्राङ्गारिक पदार्थ छैन भने रासायनिक मलले पनि राम्रो काम गर्दैन । उनी भन्छन्–“त्यसैले प्राङ्गारिक मल प्रयोग माटो सुधारको लागि अपरिहार्य छ ।”
प्राङ्गारिक मलसहित बोट बिरुवा हुर्कन आवश्यक पर्ने तत्त्वहरू प्राङ्गारिक उत्पादनहरू जस्तै समृद्ध शक्ति, समृद्ध झोल शक्ति, समृद्ध जिङ्क मिक्सर आदि प्राङ्गारिक खनिज तत्त्व प्रयोग गर्दा खेती सप्रिने उनको भनाइ छ ।
प्राङ्गारिक उत्पादनहरूमा बोरोन आइरन म्यागजिन, कपर, जिङ्क, गोलिब्डेनम, क्लोरिन आदिलाई उचित मात्रामा प्रयोगबाट कृषकले उत्पादन बढाउन सक्छन् । प्राङ्गारिक मलमा यी तत्त्वहरूको मिश्रण पहिले नै भएको पनि हुन्छ । माटोको उर्वरता अनुसार यी तत्त्वहरू थप गर्न सकिन्छ ।
रासायनिक डिएपी मलको सट्टा प्राङ्गारिक डिएपी मल प्रयोग गर्दा माटोलाई सुधार गर्न सकिने भएकाले यसको प्रयोग बढ्दो रहेको छ । प्राङ्गारिक डिएपी मल जैविक तथा प्राङ्गारिक पदार्थहरूको प्रयोग गरी तयार गरिने भएकाले कृषकको रोजाइँ हुने गरेको रपन्देहीका कृषि अभियान्ता बाबुराम आचार्यको भनाइ छ । राम्रोसंग पाकेको गोबर मल वा कम्पोष्ट, हड्डीको धुलो, रक फस्फेट, बर्मी कम्पोष्ट, जिवाणु मल आदिको मिश्रण गरी प्राङ्गारिक मल तयार गरिन्छ ।
यो मलले माटोको उर्वरता बढाउने, लाभदायिक सुक्ष्म जीवहरूको वृद्धि गर्ने, वातावरण मैत्री र दीर्घकालीनरूपमा माटोमा उत्पादनमा क्षमतामा सुधार ल्याउने हँुदा यसको प्रयोगमा फाइदै फाइदा छ । रुपन्देहीमा लुम्बिनी कृषि तथा पशुपक्षी विकास सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित प्राङ्गारिक मल उद्योग सहित ४ वटा उद्यो सञ्चालनमा छन् ।
ग्रोमोर फर्टिलाइजर एण्ड केमिकल, नेपाल बायो कम्पोष्ट, लुम्विनी एग्रो अर्गानिकन फर्टिलाइजर कम्पनीले प्राङ्गारिक मल उत्पादन गर्दछ । यसको उत्पादन वृद्धि गरी प्राङ्गारिक मलमा रुपन्देहीलाई आत्मनिर्भर बनाउन सकिने उत्पादकहरूको भनाइ छ ।
त्यसको लागि पालिकाहरूले प्राङ्गारिक मल प्रयोग गर्न र यसको प्रवद्र्धन गर्ने नीति बनाउन आवश्यक रहेको उनीहरूको भनाइ छ । नेपालमा हरेक वर्ष एक लाख ५० हजार मेट्रिक टन रासायनिक डिएपी मल खपत हुन्छ ।
रासायनिक मलको तुलनामा प्राङ्गारिक मल केही महँगो पर्ने भए पनि दीर्घकालीन उत्पादनमा हेर्दा यसको महत्त्व बढी छ । कृषकहरूमा प्राङ्गारिक मल प्रयोगमा प्रोत्साहन र प्राङ्गारिक मल उत्पादन वृद्धि गरी रासायनिक डिएपी विस्थापन गर्न सकिन्छ ।
रासायनिक मलको प्रयोगबाट हुने हानी पछिल्ला दिनहरूमा कृषकले पनि बुझ्दै गएकाले १२ वर्षपछि खोला फर्किन्छ भन्ने नेपाली उखान जस्तै फेरि प्राङ्गारिक मल रासायनिक मलको विकल्प प्रयोगमा आउन लागेको हो ।