© 2026
काठमाडौँ । पहिलो चरणको निर्वाचनको नतिजा सार्वजनिक भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ६ पदाधिकारी पदका लागि चुनावी प्रतिस्पर्धा हुने भएको छ । सभापति पदमा भने रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार बाँकी दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री पदका लागि दोस्रो चरणको निर्वाचन हुनेछ ।
पार्टी विधानअनुसार एक वरिष्ठ नेता, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष तथा दुई सहकोषाध्यक्ष सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ ।
त्यस्तै, रास्वपाको १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरिएको छ । सातवटै प्रदेशका पदाधिकारी पदेन सदस्य रहनेछन् । केन्द्रीय समितिका ५१ सदस्य मनोनयन गर्ने अधिकार सभापतिलाई प्रदान गरिएको छ ।