Butwal Today

कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन

११ असार २०८३, बिहीबार
अ+
अ-

काठमान्डौँ ।

सरकारले कक्षा १२ को परीक्षासम्बन्धी विद्यार्थीहरूले उठाएका गुनासो र प्रश्नहरूको सम्बोधन गर्न समिति गठन गरेको छ ।

शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कक्षा १२ का विद्यार्थीहरूको उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण, परीक्षाङ्क तथा डेटा इन्ट्रीको प्रमाणीकरण ९भेरिफिकेसन० गर्न समिति गठन गरिएको जानकारी दिएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका उपसचिवहरूको प्रतिनिधित्व रहने गरी समिति गठन गरिएको मन्त्री पोखरेलले बताएका छन् ।

कक्षा १२ को परीक्षाफल हतारमा प्रकाशित गर्दा त्रुटि भएको भन्दै विद्यार्थीहरूले विरोध जनाउँदै आएका छन् । उनीहरूले बिहीबार माइतीघर मण्डलामा प्रदर्शनसमेत गरेका थिए ।

यस विषयले आफ्नो ध्यानाकर्षण भएको मन्त्री पोखरेलले बताएका छन् । उनले परीक्षाफल प्रकाशन गर्न कुनै हतार नगरिएको दाबी गरेका छन् ।

‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन । बरु आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रियाहरू छोट्याई नतिजा प्रकाशित हुनुपर्ने समयमा नै प्रकाशित गरिएको हो,’ उनले भनेका छन् ।

उनले आन्दोलनरत विद्यार्थीप्रति अपमानजनक टिप्पणी नगर्न पनि सबैलाई आग्रह गरेका छन् ।

‘विद्यार्थीप्रति गरिएका केही नकारात्मक तथा असम्मानजनक टिप्पणीहरूले मेरो ध्यानाकर्षण भएको छ । शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका कुनै पनि व्यक्ति वा समूहप्रति सामाजिक सञ्जालमा दुर्व्यवहार, गालीगलौज वा असम्मानजनक टिप्पणी नगर्न सबैमा अनुरोध गर्दछु,’ पोखरेलले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?