© 2026
धनगढी ।
कैलालीमा नेपाली सेनाको तालिमका क्रममा ग्रिनेड विस्फोट हुँदा एक सैनिकको मृत्यु भएको छ भने एक अधिकृत घाइते भएका छन् ।
जिल्लाको मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वनमा बिहीबार बिहान फायरिङ अभ्यासका क्रममा आकस्मिक रूपमा ग्रिनेड विस्फोट भएको थियो । विस्फोटमा परी नेपाली सेनाका हुद्दा हिमाल विक्रम विष्टको मृत्यु भएको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गे ब्यारेकबाट बिहान ९ः१७ बजे तालिम टोली अभ्यासका लागि वन क्षेत्रमा पुगेको थियो । विस्फोटमा गम्भीर घाइते भएका विष्टलाई उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा दिउँसो करिब १२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
प्रहरीका अनुसार विस्फोटबाट विष्टको दाहिने हत्केला तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो ।
उक्त घटनामा सेनाका सहसेनानी हिमराज जोशी पनि घाइते भएका छन् । विस्फोटका क्रममा उछिट्टिएको छर्रा लागेर उनी घाइते भएका हुन् । जोशीको अवस्था सामान्य रहेको र थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको डीएसपी तिमिल्सिनाले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।