Butwal Today

१८–२० वर्षका किशोरकिशोरीको विवाहमा जरिबाना मात्रै

११ असार २०८३, बिहीबार
अ+
अ-

काठमान्डौँ ।

सरकारले उमेर नपुगी विवाह गर्ने किशोरकिशोरीमाथि लाग्ने सजायको व्यवस्था संशोधन गर्ने प्रस्ताव गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले मुलुकी अपराध संहिता, २०७४ संशोधनका क्रममा यस्तो व्यवस्था प्रस्ताव गरेको हो ।

प्रस्तावित विधेयकअनुसार १८ वर्षभन्दा कम उमेरमा विवाह गर्ने वा गराउने व्यक्तिमाथि हाल कायम सजाय यथावत रहनेछ । तर १८ वर्ष पूरा भई २० वर्ष नपुगेका किशोरकिशोरीबीच विवाह भएमा कैद सजाय हटाइने व्यवस्था गरिएको छ ।

नयाँ प्रस्तावअनुसार १८ देखि २० वर्ष उमेर समूहका किशोरकिशोरीले विवाह गरेमा २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था गरिएको छ । उनीहरूलाई कैद सजाय भने हुने छैन ।

त्यस्तै, आपसी मञ्जुरीमा विवाह गरेका किशोरकिशोरीले अनुसन्धान अधिकारीसमक्ष ‘२० वर्ष नपुगेसम्म अलग–अलग बस्ने’ भनी लिखित मञ्जुरीनामा दिएमा उनीहरूमाथि मुद्दा नै नचलाइने प्रस्ताव गरिएको छ । यस्तो अवस्थामा उनीहरूले जरिबाना समेत तिर्नु नपर्ने व्यवस्था गरिएको छ ।

सरकारले उमेर नपुगी आपसी सहमतिमा हुने शारीरिक सम्पर्कसम्बन्धी कसुरमा पनि सजायको मात्रा घटाउने प्रस्ताव अघि सारेको छ ।

प्रस्तावित व्यवस्थाअनुसार प्रेम सम्बन्धका कारण आपसी समझदारीमा शारीरिक सम्पर्क कायम गर्ने किशोरकिशोरीको उमेर अन्तर दुई वर्षभन्दा कम भएमा त्यस्तो कसुरमा अधिकतम एक वर्ष कैद सजाय हुने व्यवस्था गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?