Butwal Today

त्रिवेणीधामलाई लुम्बिनी प्रदेशमै राख्न माग

८ असार २०८३, सोमबार
अ+
अ-

नवलपरासी । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–६ र ७ का स्थानीयवासीले आफूहरूलाई गण्डकी प्रदेशबाट हटाई लुम्बिनी प्रदेशमा समावेश गर्न माग गरेका छन् ।

संविधान संशोधनको अवसरमा त्रिवेणी क्षेत्रको प्रशासनिक पुनर्संरचना गरी लुम्बिनी प्रदेशमै राख्नुपर्ने उनीहरूको जोड छ । विनयी त्रिवेणी गाउँपालिका–७ स्थित शिवपुरगढीमा आयोजित सर्वपक्षीय अन्तरक्रिया तथा भेलामा सहभागी स्थानीयवासी, जनप्रतिनिधि र नागरिक अगुवाहरूले राज्य पुनर्संरचनाका क्रममा स्थानीयको भावना विपरीत त्रिवेणी क्षेत्रलाई गण्डकी प्रदेशमा राखिएको भन्दै त्यसलाई सच्याउनुपर्ने बताएका हुन् ।

कार्यक्रममा वक्ताहरूले त्रिवेणी क्षेत्रका नागरिकले वर्षौँदेखि राज्यबाट उपेक्षा र विभेद भोग्दै आएको गुनासो गरे । उनीहरूले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, जग्गा नाप जाँचलगायत सामान्य प्रशासनिक सेवा लिनसमेत जिल्ला सदरमुकाम कावासोती पुग्नुपर्ने बाध्यता रहेको बताए ।

स्थानीयका अनुसार वडा नं. ६ र ७ का बासिन्दाले दाउन्ने पहाड पार गर्दै करिब ६५ किलोमिटर यात्रा गरेर सेवा लिनुपर्छ । यसले समय, श्रम र आर्थिक भार थपिएको भन्दै सहभागीहरूले हालको प्रशासनिक संरचना नागरिकमैत्री नभएको टिप्पणी गरे ।

अन्तरक्रियामा बोल्ने अधिकांश वक्ताहरूले त्रिवेणी क्षेत्रको भौगोलिक अवस्थिति, सेवा पहुँच र नागरिकको दैनिक जीवनलाई आधार मानेर प्रशासनिक सिमाङ्कन पुनरावलोकन गर्नुपर्ने धारणा राखे । उनीहरूले संविधान संशोधनमार्फत विनयी त्रिवेणी गाउँपालिका–६ र ७ लाई लुम्बिनी प्रदेशमा समावेश गर्न माग गरे ।

कार्यक्रममा सुस्ता गाउँपालिकासँग यी दुई वडा समेटेर ‘त्रिवेणी–सुस्ता गाउँपालिका’ गठन गर्न सकिने सुझावसमेत प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?