© 2026
भैरहवा । रूपन्देहीका तिलोत्तमा नगरपालिका–१४ सुपौलीस्थित हिमालय महिला टेलरमा बिहानदेखि साँझसम्म सिलाई मेसिनको आवाज निरन्तर सुनिन्छ ।
कपडाको नाप लिने, काट्ने र सिलाउने काममा व्यस्त देखिने मनमाया सुनारका लागि यो केवल पेसा मात्र होइन, परिवारको आर्थिक आधार पनि हो । लामो समयदेखि सिलाई कटाई व्यवसायमा आबद्ध उनको काम पछिल्ला वर्षहरूमा थप सहज र व्यवस्थित बनेको छ । यसको प्रमुख कारण बनेको छ तिलोत्तमा नगरपालिकाबाट प्राप्त सहयोग ।
मनमाया सुनारले नगरपालिकाबाट प्राप्त आधुनिक मेसिन, उपकरण तथा सीपमूलक तालिमले आफ्नो व्यवसायलाई नयाँ उचाइ दिएको बत्ताउँछिन् । “पहिले सामान्य सिलाइको काम मात्रै गर्थेँ । अहिले आधुनिक मेसिनको प्रयोगले काम छिटो र राम्रो हुन्छ । ग्राहकको मागअनुसार नयाँ डिजाइनका कपडा र झोला पनि बनाउन सकिन्छ,” उनले भनिन् ।
मनमाया सँगै उक्त टेलरमा सरस्वती सुनार पनि सँगै काम गर्छिन् । दुवै जना अहिले दैनिक रूपमै व्यवसायमा व्यस्त रहने गरेको अनुभव सुनाउँछन् ।
मनमाया र सरस्वतीको अनुभव केवल व्यक्तिगत सफलताको कथा मात्र होइन । यो तिलोत्तमा नगरपालिकाले दलित तथा लक्षित वर्गका लघु उद्यमीहरूलाई प्रदान गर्दै आएको सहयोगको प्रभावको एउटा प्रतिनिधि उदाहरण हो । नगरपालिकाले पछिल्ला केही वर्षदेखि परम्परागत पेसालाई संरक्षण गर्दै आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । यिनै कार्यक्रमअन्तर्गत व्यवसायीहरूलाई आवश्यक औजार, मेसिनरी सामग्री र सीपमूलक तालिम प्रदान गरिँदै आएको छ ।

तालिमले बढायो व्यवसाय सञ्चालनको क्षमता
मनमाया सुनारका अनुसार नगरपालिकाले उपलब्ध गराएको सहयोग केवल मेसिनमा सीमित छैन । केही समयअघि आयोजित चार दिने विशेष तालिमले व्यवसाय सञ्चालनको तरिका बुझ्न ठुलो सहयोग पुगेको छ ।
“हामीले काम त गरिरहेका थियौँ, तर व्यवसाय कसरी विस्तार गर्ने, नाफा–घाटा कसरी हिसाब राख्ने, ग्राहक व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा धेरै ज्ञान थिएन,” उनले भनिन् “तालिमपछि व्यवसायलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने सीप प्राप्त भएको छ ।”
नगरपालिकाले झोला बनाउने तालिम, सिलाई कटाइसम्बन्धी उन्नत सीप विकास कार्यक्रम तथा अन्य उद्यमशीलता प्रवर्द्धन गर्ने प्रशिक्षणहरू सञ्चालन गर्दै आएको छ । यस्ता तालिमले स्थानीय दलित महिलाहरूलाई आत्मनिर्भर बन्न मात्र होइन, आफ्नै व्यवसाय सुरु गर्नसमेत प्रेरित गरिरहेको छ ।
तिलोत्तमा नगरपालिका सामाजिक विकास समिति संयोजक रवि सेन्चुरीका अनुसार स्थानीय सरकारको उद्देश्य परम्परागत पेसालाई आधुनिक बनाउँदै आर्थिक रूपमा सबल समुदाय निर्माण गर्नु हो ।
“हामीले नगरपालिकाको नीति, कार्यक्रम र बजेटमार्फत लक्षित वर्गको आर्थिक अवस्था सुधार गर्ने उद्देश्य राखेका छौँ,” सेन्चुरीले भने, “माग र आवश्यकताका आधारमा सामग्री वितरण गरिन्छ । त्यसका लागि आवेदन माग्ने, छानबिन गर्ने र आवश्यकताका आधारमा छनोट गर्ने प्रक्रिया अपनाइन्छ ।”
उनका अनुसार सिलाई व्यवसायीहरूलाई जुकी मेसिन, पिको मेसिन, इन्टरलक् मेसिन तथा अन्य आवश्यक उपकरण उपलब्ध गराइएको छ । आरन व्यवसायीहरूलाई आधुनिक औजार, उद्यमीहरूलाई दाना बनाउने मेसिन, मत्स्य कृषकलाई आवश्यक प्राविधिक सामग्री लगायतका सहयोग प्रदान गरिएको छ ।
सेन्चुरीले भने “आधुनिक उपकरणको प्रयोगले श्रमको उत्पादकत्व बढाउने, उत्पादनको गुणस्तर सुधार गर्ने र स्थानीय उद्यमलाई प्रतिस्पर्धी बनाउने काम गर्छ ।”
तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७९/८० देखि निरन्तर रूपमा दलित समुदायका लघु उद्यमीहरूलाई सामग्री वितरण गर्दै आएको छ ।
तिलोत्तमा नगरपालिकाको कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९÷८० मा आरन व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले लिला बल्लभ विश्वकर्मा, ढोलबहादुर सुनार, अमृता विश्वकर्मा, भागबहादुर विश्वकर्मा, प्रेमबहादुर विश्वकर्मा र टेकबहादुर कामीलाई आरन व्यवसायसम्बन्धी सामग्री प्रदान गरिएको थियो ।
त्यसपछि आर्थिक वर्ष २०८०/८१ मा मनकुमारी सुनारलाई पिको मेसिन, सरस्वती सुनारलाई जुकी मेसिन, आइतीमाया सुनारलाई पिको मेसिन, विष्णुमाया सुनारलाई सावर कुर्ची, कमला सुनारलाई चाप बटर मेसिन, सरगम विश्वकर्मालाई दाना बनाउने मेसिन, बुद्धिमाया विश्वकर्मालाई सर्फ डाइ मेसिन, मिठु नेपालीलाई सिलाई मेसिन, सीता दर्जी र मिना कुमारी दर्जीलाई हिल टंकी तथा विष्णु दर्जीलाई सिलाई मेसिन प्रदान गरिएको थियो ।
त्यसैगरी आर्थिक वर्ष २०८१/८२ मा रविना दर्जीलाई इन्टरलक् मेसिन, इन्दिरा विश्वकर्मालाई गरगहना सरसफाइ मेसिन, मोतीमाया दमाईलाई सिलाई मेसिन, जंगबहादुर विश्वकर्मालाई आरनका औजार, आशा दमाईलाई सिलाई मेसिन, टंक दमाईलाई जुकी मेसिन, नवदुर्गा पञ्चेबाजा समूहलाई बाजा सेट, छविलाल विश्वकर्मालाई मोटर मेसिन, कृष्णबहादुर सार्कीलाई सिलाई मेसिन, दुर्गाकुमारी दर्जीलाई पिको मेसिन, डोरना कुमारी दर्जीलाई सिलाई मेसिन तथा बासमती खरविन्दलाई मोटर पाइप वितरण गरिएको थियो ।
यी सामग्रीहरूले लाभग्राहीहरूको उत्पादन क्षमता बढाउनुका साथै व्यवसाय विस्तारमा सहयोग पुगेको नगरपालिकाको दाबी छ ।
आत्मनिर्भरतातर्फ बढ्दै महिलाहरू
स्थानीय तहले प्रदान गरेको सहयोगको सबैभन्दा सकारात्मक प्रभाव महिलाहरूमा देखिएको छ । विगतमा घरायसी काममा सीमित रहेका धेरै महिलाहरू अहिले सिलाइकटाइ, झोला उत्पादन, खाद्य प्रशोधन तथा अन्य घरेलु उद्योगमार्फत आम्दानी गर्न थालेका छन् ।
मनमाया सुनार, सरस्वती सुनार, आइतीमाया सुनार जस्ता महिलाहरूले आफ्नै व्यवसाय सञ्चालन गरेर परिवारको आयमा योगदान पु¥याइरहेका छन् । यसले आर्थिक सशक्तीकरण मात्र होइन, सामाजिक आत्मविश्वाससमेत बढाएको छ ।
स्थानीय महिला उद्यमीहरूका अनुसार आधुनिक मेसिन प्राप्त भएपछि उत्पादनको गति बढेको छ । ग्राहकको मागअनुसार समयमै काम सम्पन्न गर्न सकिने भएकाले आम्दानी पनि बढेको छ ।
यद्यपि, नगरपालिकाको सहयोगबाट सबै व्यवसायी समान रूपमा सन्तुष्ट भने छैनन् । तिलोत्तमा –१६ बिहुलीका परम्परागत आरन व्यवसायी एवं लघु उद्यमी भक्तबहादुर विश्वकर्माले सहयोग कार्यक्रमको उद्देश्य सकारात्मक भए पनि वास्तविक आवश्यकता अनुसार सामग्री वितरण हुनुपर्ने बताउँछन् ।
उनका अनुसार आरन व्यवसाय अहिले विभिन्न चुनौतीसँग जुधिरहेको छ । सबैभन्दा ठुलो समस्या कोइलाको अभाव हो । “कोइला बिना आरन व्यवसाय सञ्चालन हुनै सक्दैन,” उनले भने, “हाम्रो मुख्य आवश्यकता कोइलाको सहज उपलब्धता र व्यवसाय सञ्चालनका लागि लगानी हो ।”
भक्तबहादुरले केही समयअघि प्राप्त गरेको सहयोगबारे अनुभव सुनाउँदै भने, “एउटा सानो वेल्डिङ मेसिन, ग्राइन्डर, ड्रिल मेसिन, कैंची, पिलास र पेचकस भएको बक्स पाएको थिएँ । तर हाम्रो मुख्य काम फलाम पिट्ने र अचानोमा गर्ने भएकाले तीमध्ये धेरै सामान उपयोगी भएनन् ।”
उनका अनुसार पिलास र पेचकसभन्दा आरनमा प्रयोग हुने सर्सि तथा अन्य आवश्यक औजार बढी उपयोगी हुन्थे । “केही सामान त अहिलेसम्म बक्समै छन् । खोल्नसमेत परेको छैन,” उनले भने ।
भक्तबहादुर विश्वकर्माको भनाइले स्थानीय सरकारका कार्यक्रमहरूमा देखिने एउटा साझा चुनौतीलाई उजागर गर्छ । सहयोग वितरणको उद्देश्य राम्रो भए पनि कहिलेकाहीँ व्यवसायीको वास्तविक आवश्यकतासँग मेल नखाँदा अपेक्षित परिणाम प्राप्त हुन सक्दैन ।
विज्ञहरूका अनुसार उद्यमीलाई सहयोग गर्दा एकै प्रकारको सामग्री वितरण गर्नु भन्दा व्यवसायको प्रकृति, बजारको अवस्था र लाभग्राहीको आवश्यकता अनुसार योजना बनाउनु आवश्यक हुन्छ ।
आरन व्यवसायीहरूको हकमा कच्चा पदार्थ, कोइलाको उपलब्धता, प्राविधिक आधुनिकीकरण तथा लगानीको पहुँच महत्त्वपूर्ण हुन सक्छ भने सिलाई व्यवसायीहरूका लागि मेसिन र सीप विकास बढी प्रभावकारी हुन सक्छ ।
तिलोत्तमा नगरपालिकाले दलित समुदायका परम्परागत पेसालाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले थालेको अभियानले धेरै नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याएको देखिन्छ । आधुनिक औजार, मेसिन र तालिमले उद्यमीहरूको उत्पादन क्षमता बढाएको छ, आम्दानीका अवसर सिर्जना गरेको छ र आत्मनिर्भर बन्ने आधार तयार गरेको छ ।
तर, यससँगै लाभग्राहीको वास्तविक आवश्यकता पहिचान गरी सोहीअनुसार सहयोग उपलब्ध गराउने विषयमा थप ध्यान दिनुपर्ने देखिन्छ । व्यवसायीहरूको माग, स्थानीय स्रोतसाधनको अवस्था र पेसागत चुनौतीलाई बुझेर कार्यक्रम सञ्चालन गर्न सके यसको प्रभाव अझ व्यापक र दिगो बन्न सक्छ ।
स्थानीय सरकारको सहयोगले धेरै दलित उद्यमीहरूमा नयाँ आशा जगाएको छ । आधुनिक औजारसँगै प्राप्त आत्मविश्वासले उनीहरूलाई परम्परागत पेसामा टिकिरहन मात्र होइन, त्यसलाई आयआर्जनको सम्मानजनक माध्यमका रूपमा विकास गर्न प्रेरित गरिरहेको छ ।
यही कारण तिलोत्तमाको यो पहल केवल सामग्री वितरणको कार्यक्रम नभई स्थानीय आर्थिक सशक्तीकरण र सामाजिक रूपान्तरणको अभियानका रूपमा स्थापित हुँदै गएको छ ।