Butwal Today

पाल्पामा विजयोत्सवको प्रतीक भगवती रथजात्रा

२१ भाद्र २०८३, आइतबार
अ+
अ-

पाल्पा । नेपालले अङ्ग्रेज सेनामाथि विजय हासिल गरेको ऐतिहासिक घटनाको स्मरणमा पाल्पामा शनिबार २०७ औँ विजयोत्सवका रूपमा भगवती रथजात्रा निकालिएको छ ।

वीरता, राष्ट्रियता र स्वाधीनताको प्रतीकका रूपमा मनाइँदै आएको भगवती रथजात्रामा पाल्पावासीको उत्साह र सहभागिता देखिएको छ ।

बुटवलको जितगढी क्षेत्रमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली सेनाले विजय हासिल गरेको सम्झनामा पाल्पामा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट अर्थात् भाद्र कृष्ण नवमीका दिन भगवती रथयात्रा निकालिँदै आएको छ ।

करिब दुई शताब्दीदेखि निरन्तर सञ्चालन हुँदै आएको यो जात्रा पाल्पाको धार्मिक तथा सांस्कृतिक पहिचानसँगै नेपालको राष्ट्रिय इतिहाससँग जोडिएको महत्त्वपूर्ण पर्वका रूपमा स्थापित छ ।

तत्कालीन पाल्पाका तैनाथवाला कर्णेल उजिरसिंह थापाले बुटवलको जितगढी क्षेत्रमा अङ्ग्रेज सेनासँग युद्ध गर्न जानुअघि देवी भगवतीको चरण छोएर युद्धमा विजय प्राप्त भए मन्दिर निर्माण गरी सिन्दूरजात्रा गर्ने र भगवतीको महिमा चारैतिर फैलाउने भाकल गर्नुभएको इतिहास छ ।

उनकै नेतृत्वमा नेपाली सेनाले जितगढी क्षेत्रमा अङ्ग्रेज सेनाविरुद्ध दुई पटक युद्ध लडेर विजय हासिल गरेको इतिहास छ । युद्धमा विजय प्राप्त गरेपछि कर्णेल उजिरसिंह थापाले आफ्नो भाकल पूरा गर्ने क्रममा विसं १८७२ देखि १८७६ सम्म पाल्पामा ठुलो गजुरसहितको तीन तले भगवती मन्दिर निर्माण गरेका थिए ।

मन्दिर निर्माण सम्पन्न भएपछि विजयको स्मरणमा भगवतीको रथयात्रा निकाल्ने परम्परा सुरु भएको हो । विसं १८७७ देखि भाद्र कृष्ण नवमीका दिन नियमित रूपमा भगवती रथयात्रा निकालिँदै आएको बताइन्छ । यही ऐतिहासिक पृष्ठभूमिका कारण भगवती मन्दिर ‘रणउजिरेश्वरी भगवती’का रूपमा समेत परिचित छ ।

यस वर्षको विजयउत्सव भगवती रथयात्रा शनिबार दिउँसो १२ः४० बजेको शुभसाइतमा निकालिएको हो । रथ उठाउनुअघि धार्मिक विधिअनुसार पूजाआजा गरिएको थियो । भगवतीको रथलाई नेपाली सेनाले सलामी दिएपछि मन्दिरको तीन पटक परिक्रमा गराइएको भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोक महर्जनले बताए ।

मन्दिर परिक्रमा गराएपछि पाल्पास्थित नेपाली सेनाका गणपतिले पूजाआजा तथा बलि दिएका थिए । त्यसै गरी नेपाल सरकारको तर्फबाट प्रमुख जिल्ला अधिकारीले पाल्पा दरबार परिसरमा विशेष पूजाआजा तथा बलि दिने परम्परा रहेको छ । रथयात्राका क्रममा पाल्पाका विभिन्न स्थानबाट आएका श्रद्धालु तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

भगवती मन्दिरबाट सुरु भएको रथयात्रा पाल्पा बजारका विभिन्न भाग परिक्रमा गरी पुनः मन्दिर परिसरमा पुगेको थियो । स्थानीयवासीको लागि यो जात्रा धार्मिक आस्थासँग मात्र जोडिएको छैन, पुर्खाले हासिल गरेको ऐतिहासिक विजयको स्मरण गर्ने अवसरसमेत बनेको छ ।

अङ्ग्रेज सेनाविरुद्ध नेपाली सेनाले देखाएको साहस र वीरताको स्मरणमा सञ्चालन हुँदै आएको भगवती रथजात्रा पछिल्लो समय पाल्पाको प्रमुख सांस्कृतिक उत्सवका रूपमा विकास भएको छ । जात्रामा नेपाली सेना, स्थानीय प्रशासन, राजनीतिक दल, सामाजिक सङ्घसंस्था, स्थानीयवासी तथा विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता रहने गरेको छ ।

संस्कृतिविद् निर्मल श्रेष्ठले भगवती रथजात्रा पाल्पाको मात्र नभई नेपालको राष्ट्रिय इतिहाससँग जोडिएको पर्व भएकाले यसको संरक्षण र प्रवद्र्धनमा राज्यले विशेष ध्यान दिनुपर्ने बताए । “भगवती रथजात्रा नेपालीको राष्ट्रियता र नागरिकको भावनासँग गाँसिएको पर्व हो,” उनले भने, “यो नेपाली सेनाको वीरता र स्वाधीनताको प्रतीकसमेत भएकाले केन्द्र सरकारले नै राष्ट्रिय विजयोत्सवका रूपमा मनाउने वातावरण बनाउनुपर्छ ।”

भगवती रथजात्राकै अवसरमा लुम्बिनी प्रदेश सरकारले पाल्पामा सार्वजनिक बिदा दिँदै आएको छ । यसले पनि जात्राको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई प्रदेश सरकारले स्वीकार गरेको देखिन्छ ।

यस वर्षको विजयउत्सव भगवती रथयात्राको अवलोकन गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेश सभामुख तुलाराम घर्तीमगर, वन, वातावरण तथा पर्यटन मन्त्री तुलसीप्रसाद चौधरी, प्रतिनिधिसभा सदस्य माधव थापालगायत जनप्रतिनिधि, नेपाली सेना तथा सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।

पाल्पामा भगवती जात्रा केवल धार्मिक अनुष्ठानमा सीमित छैन । दुई शताब्दीअघि अङ्ग्रेज सेनाविरुद्ध नेपाली सेनाले हासिल गरेको विजयलाई पुस्तौँदेखि सम्झाउने माध्यमका रूपमा यसले निरन्तरता पाएको छ । त्यसैले हरेक वर्ष रथयात्रा निकालिँदा पाल्पालीले आफ्ना पुर्खाको वीरता, साहस र स्वाधीनताको इतिहासलाई पुनः स्मरण गर्ने गरेका छन् ।

बुटवलको जितगढीमा भएको युद्धमा नेपाली सेनाले हासिल गरेको विजय र त्यसको सम्झनामा पाल्पामा सुरु भएको भगवती रथयात्रा आजसम्म निरन्तर चल्नु आफैँमा ऐतिहासिक महत्वको विषय हो । धार्मिक आस्था, सांस्कृतिक परम्परा र राष्ट्रिय भावनालाई एउटै सूत्रमा जोड्दै आएको यो जात्रा पाल्पाको मौलिक पहिचानका रूपमा स्थापित भएको छ ।

इतिहासको एउटा महत्त्वपूर्ण विजयलाई सम्झँदै सुरु भएको भगवती रथयात्रा आज पनि उही उत्साह र श्रद्धाका साथ मनाइनुले पाल्पावासीमा इतिहासप्रतिको सम्मान र राष्ट्रिय भावनाको निरन्तरता देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?