© 2026
कतार ।
कतारमा सामाजिक क्षेत्रमा सक्रिय कास्की आदर्श समाज कतारले बडादसैँ तथा शुभदीपावलीको अवसर पारेर गृहजिल्ला कास्कीमा दोस्रो पटक रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् र कास्की आदर्श समाज नेपालसँगको समन्वयमा आगामी कात्तिक १३ गते शुक्रबार पोखराको चिप्लेढुङ्गास्थित मानव अधिकार चोकमा कार्यक्रम आयोजना गर्न लागिएको हो । ‘तपाईंको एक थोपा रगत, कसैको जीवनको अमूल्य उपहार’ भन्ने नारासहित बिहान ८ बजेदेखि सञ्चालन हुने कार्यक्रममा सहभागी भई रक्तदान गर्न आदर्श समाज कतारले आग्रह समेत गरेको छ ।
परोपकारी कार्यक्रमको अवसरमा समाजमा आबद्ध आजीवन सदस्यका छोराछोरीमध्ये २०८२ सालको एसएलसी परीक्षामा सहभागी तथा उत्तीर्ण विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिने र उत्कृष्ट नतिजा हासिल गर्ने एक छात्र र एक छात्रालाई नगद पुरस्कारसहित विशेष सम्मान रहेको समाजका अध्यक्ष अमृत विश्वकर्माले जानकारी दिए ।
कास्की आदर्श समाज कतारले कतार तथा गृहजिल्ला कास्कीमा विभिन्न सामाजिक र परोपकारी गतिविधि सञ्चालन गर्दै आएको छ । समाजले विपद्मा परेकालाई सहयोग गर्नुका साथै शिक्षा तथा स्वास्थ्य क्षेत्रमा योगदान र सामाजिक सद्भाव अभिवृद्धिका कार्यक्रममार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ ।