Butwal Today

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

२१ भाद्र २०८३, आइतबार
अ+
अ-

काठमाडौँ ।  रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परी घाइते भएका ५८ जनालाई उद्धार गरी काठमाडौँ ल्याइएकामा राष्ट्रिय ट्रमा सेन्टरबाट आजसम्म ३८ जना उपचारपछि ‘डिस्चार्ज’ भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार बाढीमा परी घाइते भएका ५० जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको थियो । उपचारका क्रममा स्वास्थ्य अवस्थामा सुधार आएपछि हालसम्म ३८ जनालाई डिस्चार्ज गरिएको हो ।

राष्ट्रिय ट्रमा सेन्टरमा अहिले १२ घाइतेको उपचार भइरहेको छ । अस्पताल प्रशासनका अनुसार उपचाररत अधिकांश घाइतेको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरूलाई साधारण शय्यामा राखेर उपचार भइरहेको छ ।

भोटेकोशी बाढीमा परी घाइते भएका तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई आवश्यक सूचना उपलब्ध गराउन नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।

सहायता कक्षमार्फत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन आउनेको क्रम जारी रहेको प्रहरीले जनाएको छ । अस्पताल पुगेका आफन्तले आफ्ना परिवारका सदस्यको स्वास्थ्य अवस्था तथा उपचारबारे जानकारी लिइरहेका छन् ।

भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य अझै जारी रहेको छ । उद्धार गरिएका घाइतेको उपचारसँगै पीडित तथा बेपत्ता व्यक्तिका आफन्तसँग समन्वय र आवश्यक सहयोगका लागि सम्बन्धित निकायले पहल गरिरहेको प्रहरीले जनाएको छ ।

बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ भने सम्पर्कविहीन व्यक्तिको खोजी, घाइतेको उपचार तथा प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?