© 2026
काठमाडौँ ।
सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा सडक सुरक्षा, यातायात व्यवस्थापन, दुर्घटना न्यूनीकरण र पूर्वाधार सुधारका विषयमा केन्द्रित रही छलफल भएको छ ।
बैठकमा सांसद तथा विज्ञले बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी नीति कार्यान्वयनमा जोड दिए ।
समिति सभापति आशिष गजुरेलले सुझावलाई कार्यान्वयनमा लैजान समितिले सहजीकरण गर्ने बताए । उनले सडक सुरक्षा अत्यन्त संवेदनशील विषय भएकाले सरकार यसमा गम्भीर हुनुपर्ने धारणा राखे ।
सडक सुरक्षासम्बन्धी विधेयक बनेको पाँच वर्ष बितिसक्दा पनि संसद्मा पेस हुन नसकेको उल्लेख गर्दै उनले सडक पूर्वाधार समयमै निर्माण नहुँदा समस्या बढिरहेको बताए ।
एकीकृत यातायात नीति रहे तापनि सम्बन्धित मन्त्रालय हटाइएको विषय उठाउँदै उनले भावी पुस्ताको सुरक्षाका लागि पनि सडक सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताए ।
सभापति गजुरेलले भने, “अझै पनि व्यवस्थित फुटपाथ र अपाङ्गमैत्री सडक निर्माण हुनसकेको छैन ।”
सांसद सुनिल केसीले सडक दुर्घटनाका समस्या समाधान गर्न संसद्ले सहजीकरण गर्नुपर्ने बताए । उनले सडक निर्माणका क्रममा अव्यवस्थित रूपमा बाटो खन्ने, मर्मतमा ढिलाइ हुने तथा सरोकारवाला निकायबीचको समन्वय अभावका कारण दुर्घटनाको जोखिम बढेको जनाउँदै समितिमार्फत सरकारको ध्यानाकर्षण गराए ।
सांसद वासना थापाले कर्णाली क्षेत्रमा सडक सञ्चालन अनुमति (रोड परमिट) प्राप्त गर्नसमेत समस्या रहेको जनाउँदै सडक सुरक्षाको अवस्था सुधार गर्नुपर्नेमा जोड दिइन ।
बैठकमा सांसद भरतकुमार स्वार, पूर्णप्रसाद लिम्बू, धनेन्द्र कार्की र राजु पाण्डेले मुलुकको आर्थिक विकास र समृद्धिका लागि सडक सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे ।
यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले सार्वजनिक यातायातका लागि बेग्लै सडक लेन, पार्किङ व्यवस्थापन र दक्ष चालकको आवश्यकता औँल्याए ।
उनले नेपालमा बढ्दो सवारी चापअनुसार पूर्वाधार निर्माण हुन नसकेकोतर्फ सरकारको ध्यानाकर्षण गराए ।
ढुवानी व्यवसायी महासङ्घ नेपालका अध्यक्ष अरुणकुमार श्रेष्ठले मालवाहक सवारीसाधनको निगरानी र सुरक्षा प्रणाली सुधार गर्नुपर्ने बताए ।
समितिले सडक सुरक्षा, यातायात व्यवस्थापन, दुर्घटना न्यूनीकरण र पूर्वाधार विकासका विषयमा विज्ञ तथा सरोकारवालासँग सुझाव लिएको हो ।