© 2026
चन्द्रौटा । गाउँका चोक, गल्ली र बजारबाट युवाहरू हराउँदै गएका छन् । आजका अधिकांश युवाको सपना विदेश पुग्ने, धेरै पैसा कमाउने र सुरक्षित भविष्य बनाउनमा केन्द्रित छ ।
उच्च शिक्षा, रोजगारी र आर्थिक समृद्धिको खोजीमा बिदेसिने लहर तीव्र छ । लहरसँगै धेरै परिवारका सपनासमेत वैदेशिक भूमिसँग जोडिएका छन् । तर यही भीडबाट अलग उभिएका छन् कपिलवस्तुको चन्द्रौटाका युवा सन्तोष गुप्ता ।
उनी नेपाल आदर्श क्याम्पसमा अध्ययनरत छन् । सन्तोष बिहानको समय उनी क्याम्पसमा बिताउँछन् । नियमित रूपमा कक्षामा उपस्थित भई अध्ययन गर्ने सन्तोषका हातमा किताब र आँखामा भविष्यका सपना हुन्छन्
। तर उनको जीवन केवल अध्ययनमै सीमित छैन । क्याम्पसको पढाइ सकिएपछि उनी चन्द्रौटा चोक पुग्छन्, जहाँ उनको अर्को परिचय सुरु हुन्छ—एक मेहनती युवा व्यवसायीको ।
घरका परिवारमा दाजु र बाबाले गर्दै आएको पानी पुरी, चाट व्यवसाय गर्दै आएका सन्तोष व्यवसाय नै गर्नुपर्छ उनलाई लागेको थियो । त्यही क्रममा केही समय बुटवल बजार पुगेका उनी अन्डा चटपटेको स्वाद लिए ।

उनले लिएको स्वादलाई आफैले गर्नुपर्छ भन्ने उत्साह जगायो । कस्मेटिक व्यवसायमा मन गएको बेला सानो लगानी र बुटवल बजारमा खाएको त्यही स्वादले यति बेला चन्द्रौटा बजारमा उनले अरूलाई त्यही स्वाद दिइरहेका छन् ।
उनले दैनिकी दिउसो करिब २ बजेदेखि बेलुकासम्म चन्द्रौटा चोकमा चटपटे व्यवसायसँग बिताउने गर्दछन् । सन्तोष दिनभर ग्राहकको सेवा गर्दै आफ्नो भविष्यको आधार निर्माण गरिरहेका छन् । शिवराज नगरपालिका–५ घर भएका उनी पढाइसँगै व्यवसायलाई अगाडि बढाइरहेका उनले आत्मनिर्भर बन्ने लक्ष्यलाई व्यवहारमै उतारेका छन् ।
समाजमा अझै पनि कतिपय मानिसले साना व्यवसायलाई हेर्ने दृष्टिकोण पूर्ण रूपमा परिवर्तन गर्न सकेका छैनन् । तर सन्तोषलाई यस्ता सोचले रोक्न नसकेको उनले बताए ।
उनका अनुसार उनी श्रमलाई सम्मान गर्छन् र कुनै पनि काम सानो वा ठुलो नहुने विश्वास राख्छन् । यही विश्वासका कारण उनले अरूको भर नपरी आफ्नै मेहनतबाट आम्दानी गर्ने बाटो रोजेका छन् ।
विदेश जाने सोच बनाएका धेरै युवामाझ सन्तोषको यात्रा फरक छ । उनी भन्छन्– अवसर खोज्न विदेश नै पुग्नुपर्छ भन्ने छैन, मेहनत गर्न तयार हुने हो भने आफ्नै ठाउँमा पनि सम्भावना प्रशस्त छन् । उनको यही सोचले उनलाई अध्ययनसँगै व्यवसायमा निरन्तर सक्रिय बनाएको उनले जिकिर गरे ।
केही साता अघि मात्र सानो लगानीमा व्यवसाय सुरु गरेको २३ वर्षीय उनी घरपरिवारबाट राम्रो सपोर्ट पाएको सन्तोषले बताए । स्वदेशमा केही पनि हुँदैन भन्नेहरूका लागि उनी पछिल्लो युवा पुस्ताहरूको सकारात्मक उदाहरण समेत बनेका छन् । दैनिक करिब ३ हजार आम्दानी गर्दै आएका छन् ।

चटपटे व्यवसायबाट प्राप्त आम्दानीले उनको व्यक्तिगत खर्च मात्रै नभएर घरायसी खर्च व्यवस्थापनमा सहयोग पु¥याएको छ, भने आत्मविश्वास समेत बढाएको छ । व्यवसाय सञ्चालनका क्रममा उनले ग्राहकसँग व्यवहार गर्ने सीप, समय व्यवस्थापन र जिम्मेवारी बोध जस्ता महत्त्वपूर्ण अनुभव हासिल गरेका छन् ।
यी अनुभवले उनलाई भविष्यका लागि अझ सक्षम र मजबुत बनाइरहेका छन् । आज अधिकांश युवा अवसरको खोजीमा देश छाडिरहेको बेला सन्तोष जस्ता युवाले आफ्नै गाउँ, समाज र देशभित्र सम्भावना खोज्दै छन् । घरमा ५ जना छोरामध्ये उनी साइँलो छोरा हुन् ।
अवसरको खोजीमा अधिकांश युवाहरू देश छाड्दै गर्दा सन्तोषले भने विदेशको सपना छाडेर गाउँघरमै बसेर चटपटे व्यवसाय रोजको उनले बताए ।
उनीजस्ता युवाहरूका लागि प्रेरणा समेत बनेका छन् । पुनः जोड्दै उनले भने– ‘धेरै पैसा कमाउनुभन्दा पनि घरपरिवारसँग बसेर थोरै कमाएर, रमाएर खुसीका साथ जीवन जिउन सक्नुपर्छ । उनले गरेको मेहनतले देशकै अर्थतन्त्रमा टेवा पु¥याउनु पर्दछ ।
उनका अनुसार सादा चटपटे, अन्डा चटपटे जस्ता भुजा, अन्डा, चाउचाउ लगायत खाद्य वस्तुको आधा दर्जन परिकार बनाएर बेच्ने गरेको बताए । सन्तोषको पसलमा प्राय जसो एक पटक चटपटे खान आएको व्यक्ति पुनः स्वाद लिन आउने गरेको उनको दाबी छ ।
यसैबिच पहिलो पटक स्वाद लिन आएको विष्णु भण्डारीले सन्तोषले बनाएको चटपटेको स्वाद अत्यन्तै स्वादिलो रहेको बताउँछन् ।