Butwal Today

बुटवलमा सुनचाँदी पसलको चोरीमा कर्मचारीसँग मिलेर सञ्चालकले गरे चोरी !

२७ जेष्ठ २०८३, बुधबार
अ+
अ-

बुटवल । बुटवलमा एक सुनचाँदी पसलमा भएको चोरीमा पसलकै सञ्चालक संलग्न रहेको प्रहरीले बताएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानबाट बुटवलको अमरपथस्थित तिनाउ सुनचाँदी पसलबाट सुनका गरगहना तथा कच्चा सुन गरी करिब ८० तोला सुन हराएको भनि दाबी गरिएको यो घटनामा मुख्य योजनाकार सञ्चालक स्वयम् भएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

घटनाबारे एक हप्ताको अनुसन्धानबाट चोरीमा पसल सञ्चालक दीपक सेन्चुरी र कर्मचारी नवीन विकको संलग्नता पुष्टि भएको रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले बताए ।

चोरी भएको मध्य ५ तोला सुन र २५ तोला चाँदी दीपकको घरबाट बरामद भएको शाहीले बताए । पसलका सञ्चालक दीपक सेन्चुरीले करिब ७० तोला बराबरको सुनका गहना र काचो सुन चोरी भएको प्रहरीलाई बताएका थिए ।

पसल सञ्चालक दिपक बि.क. (सेन्चुरी)ले पसलको बीमा बापत पाउने रकम दाबी गर्न तथा अन्य पसल र ग्राहकले धितोमा राखेका सुनका गरगहँना समेत सहानुभूति प्राप्त गरेर कुम्ल्याउने योजना अनुसार नै चोरीको घटना बनाइएको अनुसन्धानमा खुलेको हो ।

गत जेष्ठ १७ गते घटेको यो घटना बारे ईलाका प्रहरी कार्यालय बुटवल, जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा लुम्बिनी प्रदेश प्रहरी कार्यालयको टोली समेत खटिएर गम्भिर अनुसन्धान गर्दा स्वयम् सञ्चालक नै दोषी भेटिएको रुपन्देही प्रहरी प्रमुख जनकबहादुर शाहीले बताए । प्रहरीका अनुसार सञ्चालक बि.क.ले पसलमा काम गर्ने कामदार नविन विकसँग मिलेर यो घटनाको योजना बनाएका थिए ।

यसरी खुल्यो रहस्य

घटना भएको जानकारी हुनुभन्दा अघिल्लो दिन जेष्ठ १६ गते आइतबार सञ्चालक दिपक घुमघामका लागि पोखरा गएको बहाना बनाउँछन् । भोलिपल्ट सोमबार विहान करिब १० बजेको समयमा दिपकले सञ्चालन गर्दै आएको तिनाउ सुनचाँदी पसलमा चोरी भएको खबर ईलाका प्रहरी कार्यालय बुटवलमा प्राप्त हुन्छ । पसल नजिकैका छिमेकीले विहानको समयमा पसलको सटर खुला देखेपछि सञ्चालक लगायत आफन्तलाई खबर गर्दछन् । उक्त उसमय सञ्चालक दिपक भने घुमफिरका लागि पोखरा गएको बताउँछन् ।

बुटवलको व्यवस्त र संवेदनशिल मानिने क्षेत्र अमरपथमै चोरी भएको घटनाले प्रहरीलाई थप चिन्ता र टाउको दुःखाइएको विषय बन्छ । प्रहरी बीटभन्दा करिब १००/२०० मिटरको दूरीमै रहेको तिनाउ सुनचाँदी पसलमा अनुमानित करिब डेढ करोड मूल्य बराबरको चोरी भएको प्रारम्भिक अनुसन्धानमा भेटिन्छ ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायव उपरीक्षक निसान्त श्रीवास्तवको नेतृत्वमा अनुसन्धानका लागि घटना स्थल पुगेको टोलीले पसलभित्र एउटा ठूलो चापीको झुप्पा फेला पार्छ ।

पसलभित्र रहेका दुईमध्ये सुनका गरगहँना राखिएको लकर खुला अवस्थामा र सुनका सामग्री गायब पारिएको अवस्थामा फेला पार्दछ । त्यस्तै पसलभित्र प्रवेश गर्नुपर्ने च्यानल गेट र बाहिरी सटरमा तोडफोड समेत नगरी चोरी भएको घटनाले प्रहरीलाई अनुसन्धानको सुई कता घुमाउने थप अलमल पार्छ ।

व्यस्त बजारमा करोडौं धनमालको चारी हुनु स्थानीय तथा प्रहरीका लागि पनि सामान्य कुरा थिएन । प्रहरीले विभिन्न घटनाको प्रकृति, विभिन्न ठाउँका सीसीटिभी फुटेज तथा पसल सञ्चालकको अभिव्यक्ति र हाउभाउलाई मसिनो गरी अनुसन्धान गर्दै जाँदा अचम्मको रहस्यमा पुगेको प्रहरी नायव उपरीक्षक श्रीवास्तव बताउँछन् ।

प्रहरीले घटना अनुसन्धानका लागि बुटवलका १५० बढी ठाउँमा राखिएका सीसीटिभी फुटेको सहयोग लिएको थियो । अनुसन्धानमा भेटिएका अनुसार सञ्चालक दिपक वि.क. जेष्ठ १६ गते साँझ पोखरा जाने भनि बहाना बनाउँछन् । उनले आफ्नै पसलका कर्मचारी नविन वि.कसँग मिलेर बुटवलकै एक होटलमा बस्दै योजना बनाएको सीसी टिभी फुटेजमा देखिन्छ ।

रातको साढे ९ बजे होटलमा बसेर योजना बनाएका उनीहरु रातको १२ बजेपछि सञ्चालक दिपक आफ्नो सपल चोरीका लागि प्रवेश गरेको सीसी टिभी फुटेजमा देखिन्छ । पसल भित्र उनले करिब साढे २ घण्टा विताएपछि गरगहँनासहितको झोला बोकेर साढे २ बजेको समयमा बाहिर निस्किएको देखिन्छ । झोला बोकेर पूर्व–पश्चिम राजमार्गको तिनाउ पुल हुँदै पारी बुटवलदेखि पुनः गोलपार्क तथा सिद्धबाबासम्म पुगेको भिडियो फुटेज भेटिन्छ ।

प्रहरीले प्राप्त सूचना, स्रोत र प्रमाणका आधारमा सञ्चालक दिपकमाथि केरकार गर्न लागेपछि आफ्नो पारिवारिक र आर्थिक अवस्थाका कारण घटना घटाएको स्वीकार गर्छन् ।

प्रहरी अनुसार सञ्चालक दिपकले पसलको बीमा दाबी गरेर केही रकम प्राप्त गर्ने तथा ग्राहकले धितोमा राख्न दिएका सुन गरगहँना आफूले बिक्री गरेर खर्च गरेपछि फिर्ता गर्न नसक्ने अवस्थामा उनी पुगेका थिए ।

आफूले ल्याउँदा सुनको मूल्य कम भएपनि फिर्ता गर्ने समयमा मूलय बढेका कारण किनेर फिर्ता दिन समेत नसक्ने अवस्था भएपछि पसल लुटिएको बहाना बनाएर छुटकारा पाउने योजना अनुसार चोरीको प्रपञ्च रचिएको अनुसन्धानबाट खुलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?