Butwal Today

नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’ मार्फत राजस्व तिर्नुपर्ने

२७ जेष्ठ २०८३, बुधबार
अ+
अ-

काठमाडौँ । बैङ्क तथा वित्तीय संस्थाहरूले नापी कार्यालयबाट सेवा लिँदा तिर्नुपर्ने राजस्व ‘मेरो कित्ता’ एपबाट भुक्तानी गर्न केन्द्रीय बैङ्कले निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैङ्कले आज बैङ्क तथा वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै यस्तो निर्देशन दिएको हो । “बैङ्क तथा वित्तीय संस्थाहरूले नापी कार्यालयबाट प्राप्त गर्ने सेवाहरू जस्तै: जग्गाको नक्सा, फिल्डबुक र प्लट रजिष्टर प्रिन्ट लिन तथा सोसँग सम्बन्धित राजस्व अनलाइनमार्फत भुक्तानीका लागि मेरो कित्ता प्रणालीमा संस्थागत प्रयोगकर्ता बनेर उक्त प्रणालीमार्फत गर्नुपर्नेछ”, राष्ट्र बैङ्कले एकीकृत निर्देशनमा संशोधन गर्दै भनेको छ ।

त्यस्तै, अन्तर बैङ्क कारोबार, सापटी तथा लगानीसम्बन्धी व्यवस्थापन पनि केही संशोधन गरिएको छ । बैङ्क तथा वित्तीय संस्थाले एकापसमा प्रदान गर्ने सापटीलाई नियमित कर्जा सापटको रूपमा नभई अन्तर बैङ्क कारोबार÷सापटीको रूपमा मात्र प्रयोग गर्न पाइनेछ । अन्तर बैङ्क सापटीको अवधि बढीमा सात दिनसम्म मात्र हुनेछ ।

नयाँ निर्देशनअनुसार अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा सञ्चालित नेपाल सरकारको कार्यक्रम कार्यान्वयन गर्ने प्रयोजनका लागि इजाजत पत्र प्राप्त संस्थाबिच हुने कर्जा कारोबार अन्तर बैङ्क कारोबार/सापटीमा गणना हुने छैन ।

यसरी सञ्चालित कार्यक्रमको विवरण यस बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागमा उपलब्ध गराउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?