© 2026
भैरहवा । भारतको उत्तर प्रदेशस्थित कुशीनगर क्षेत्रबाट उद्धार गरिएका ४ सय ५३ नेपाली नागरिकमध्ये ९ जनाविरुद्ध मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरका अनुसार पाँच जनाविरुद्ध ठगी तथा चार जनाविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको छ । उनीहरूलाई अनुसन्धानका लागि रुपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त भएको उनले बताए ।
उद्धारपछि प्रहरीले २० जनालाई शङ्कास्पद भन्दै नियन्त्रणमा राखेको थियो भने बाँकी ४ सय ३३ जनाको विवरण सङ्कलन गरी आफन्तको जिम्मा लगाएको थियो । नियन्त्रणमा रहेका २० जनामध्ये पनि ९ जनाविरुद्ध मुद्दा दर्ता गरिएपछि बाँकी ११ जनालाई सोमबार आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
भारतस्थित नेपाली दूतावास र भारतीय प्रहरीको समन्वयमा कुशीनगरमा सञ्चालित एक नेटवर्किङ व्यवसायको कार्यालयबाट गत शुक्रबार ती नेपाली नागरिकहरूको उद्धार गरिएको थियो । उद्धार गरिएका सबैलाई शनिबार बेलहिया नाका हुँदै रुपन्देही ल्याइएको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखेर उनीहरूमाथि सोधपुछ गरिएको थियो । सो क्रममा पीडितहरूको पहिचान गर्नुका साथै उक्त नेटवर्क सञ्चालन वा सहयोग गर्ने व्यक्तिहरूको खोजी गरिएको प्रहरीले जनाएको छ । यद्यपि, हालसम्म पक्राउ परेका शङ्कास्पद व्यक्तिहरूको नाम सार्वजनिक गरिएको छैन ।
प्रारम्भिक अनुसन्धानबाट कुशीनगरमा लुम्बिनी प्रदेश, कोसी प्रदेश र सुदूरपश्चिम प्रदेशका युवायुवतीलाई आकर्षक रोजगारीको प्रलोभन देखाई २ हजार ५ सय देखि ५ हजार रुपैयाँसम्म लिएर फाराम भराउने तथा तालिमका नाममा समेत रकम असुल्ने गरिएको खुलेको छ ।
प्रहरीका अनुसार केही व्यक्तिलाई न्यून पारिश्रमिकमा काममा लगाइए पनि अधिकांशलाई रोजगारीको आश्वासन दिएर त्यहीँ रोकिराखिएको थियो । बन्धक बनाएर राखिएको भन्ने उजुरीका आधारमा नेपाली र भारतीय सुरक्षा निकायले संयुक्त रूपमा उद्धार अभियान सञ्चालन गरेका थिए ।
निमित्त सूचना अधिकारी कुँवरले रोजगारीका नाममा हुने यस्ता ठगी तथा मानव बेचबिखनसँग मिल्दोजुल्दो गतिविधिबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।