© 2026
बुटवल । आज १९ जेठ । नेपालको इतिहासमा कालो दिन । २५ वर्षअघि आजकै दिन दरबार हत्याकाण्ड हुँदा राजा वीरेन्द्र शाह र रानी ऐश्वर्यासहित राजपरिवारका १० सदस्य मारिए ।
अधिराजकुमारी श्रुती, अधिराजकुमार निराजन, राजा वीरेन्द्रका भाई धिरेन्द्र शाहलगायत ९ जनाले घटनास्थलमै ज्यान गुमाएका थिए ।
यस प्रकरणपछि घाइते अवस्थामा रहेका युवराज दीपेन्द्रलाई राजा घोषणा गरियो र उनका काका अधिराजकुमार ज्ञानेन्द्रलाई नायबी अधिकार दिइयो । दरबार हत्याकाण्डमा ज्यान गुमाएका सबैको सामुहिक दाहसंस्कार गरियो । तीन दिनपछि दीपेन्द्रलाई पनि मृत घोषित गरियो ।
त्यसपछि ज्ञानेन्द्र शाह नेपालका नयाँ राजा बने । युवराज दिपेन्द्रले लागु औषधको उच्च नशामा रहेका बेला आवेशमा आएर जथाभाबी फायरिङ गरेको र अन्त्यमा आफैलाई गोली प्रहार गरेको ठहर दरबार हत्याकाण्डको उच्चस्तरीय छानविन समितिले गरे पनि यस प्रतिवेदनमा शङ्का गर्न सकिने प्रशस्त आधार भेटिएकाले सर्वस्वीकार्य हुन सकेन अर्थात् हत्याकाण्डलाई धेरैले रहस्यमय नै मान्छन् ।
यस हत्याकाण्डको ७ वर्षपछि २०६५ साल १५ जेठमा संविधानसभाको पहिलो बैठकले नेपालबाट विधिवत् रूपमा राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा ग–यो । राजा ज्ञानेन्द्रले सामान्य नागरिकको जीवन बिताउने घोषणासहित नारायणहिटी दरबार छाडे । जनतामाझ लोकप्रिय स्वर्गीय वीरेन्द्र राष्ट्रवादी तथा उदार शासकका रूपमा चिनिन्छन् ।
उनले आफ्नो राज्याभिषेकको अवसरमा २०३१ सालमा अन्तर्राष्ट्रिय समुदायसामु नेपाललाई औपचारिक रूपमा संयुक्त राष्ट्र सङ्घबाट शान्ति क्षेत्रको मान्यता दिलाउनका लागि सहयोग गर्न प्रस्ताव राखेका थिए , विश्वका १ सय ३० भन्दा बढी देशले यस प्रस्तावमा समर्थन गरे पनि छिमेकी भारत र सोभियत सङ्घसहितका देशले विरोध जनाउँदा सफल हुन सकेन र पञ्चायतको अन्त्यसँगै यो प्रस्ताव थन्कियो । विश्वका अन्य देशसँग नेपालको सम्बन्ध सुदृढ बनाउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
सन् १९७०– बेलायतका प्रधानमन्त्री हेराल्ड विल्सनमाथि एक चुनावी सभाका दौरान अन्डा फ्याँकियो । सन् १९७९– रोडसिया ९० वर्षपछि अल्पसङ्ख्यक गोराहरूको शासन अन्त्य, यसपछि देशको नाम जिम्बाबे रोडिसिया राखियो । १८ अप्रिल १९८० मा औपचारिक रूपमा स्वतन्त्रता घोषणा गर्दै देशको नाम जिम्बाबे मात्रै राखियो ।