© 2026
काठमाडौं- स्वास्थ्य बीमा बोर्डले बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै निजी स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका सबै बीमा सेवाहरू स्थगित गर्ने निर्णय गरेको छ। बोर्डको बैठकले गरेको निर्णय अनुसार यो व्यवस्था मिति २०८३ साल जेठ १६ गतेदेखि लागू हुनेछ।
स्वास्थ्य बीमा बोर्डका अनुसार बोर्ड बैठक (मिति २०८३/०२/११) ले गरेको निर्णयअनुसार नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिँदै आएका आकस्मिक बाहेकका अन्य सम्पूर्ण बीमा सेवाहरू अर्को निर्णय नभएसम्मका लागि स्थगन गरिनेछ।
बोर्डले जारी गरेको पत्रमा भनिएको छ ‘वित्तीय दवाब र बढ्दो दायित्वका कारण सेवा निरन्तरता व्यवस्थापन चुनौतीपूर्ण बनेको छ, जसलाई मध्यनजर गर्दै तत्कालका लागि यो निर्णय लिनुपरेको हो।’
निर्णयसँगै देशभरका निजी स्वास्थ्य संस्थाहरूमा बीमामार्फत उपलब्ध सामान्य उपचार, जाँच तथा अन्य गैर-आकस्मिक सेवा प्रभावित हुने देखिएको छ। यद्यपि आकस्मिक स्वास्थ्य सेवा भने निरन्तर सञ्चालनमा रहनेछ।
बोर्डले सम्बन्धित सबै स्वास्थ्य संस्थालाई निर्णय कार्यान्वयन गर्न र सूचना प्रविधि शाखामार्फत वेबसाइटमा जानकारी अद्यावधिक गर्न समेत निर्देशन दिएको छ।
यो निर्णयले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा लिइरहेका हजारौं बीमितहरूमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ, जसले स्वास्थ्य सेवाको पहुँच र खर्च व्यवस्थापनमा नयाँ चुनौती सिर्जना गरेको छ।